६ असोज, काठमाडौं । यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘दशैंसम्म मनसुन रहनसक्ने सम्भावना छ । त्यो भनेको वर्षा हुन सक्छ भनेको हो ।’ सन् २०२२ मा पनि दशैंको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो ।
यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरु मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताउँछन् ।