Breaking News

भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुँदै

२ असोज, काठमाडौं । ‘फिनिसिङ’ को काम नसकिँदै भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुँदैछ । सरकारले धरहरा चर्चाका लागि हतार गरेर खोल्न लागेको देखिन्छ ।

धरहराको कतिपय काम नै बाँकी हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा खुल्न लागेको सहरी विकास मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

‘धरहराको केही काम बाँकी भएको सत्य हो, तर निर्माण भएर लामो समयसम्म पनि जनताले अनुभव गर्न नपाएको भन्दै प्रधानमन्त्रीज्यूको १ सय दिनभित्र जसरी पनि चलाउने निर्देशन थियो । त्यही भएर संविधान दिवसको उपलक्ष्यमा खोल्न लागिएको हो,’ सहरी विकास मन्त्रालयका एक अधिकारीले भने ।

बुधबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह धरहरा खोल्ने पूर्वसन्ध्यामा निरीक्षण पुग्दा पनि त्यस्तै अवस्था थियो । धरहराको लिफ्ट चढ्नै लाग्दा लाइन गएर रोकिएको थियो । दुइटा लिफ्टमध्ये एउटा अझै सञ्चालनमा आइसकेको छैन ।

यस्तै बेसमेन्टमा रहेको पार्किङ पनि पूर्णरूपमा सञ्चालनमा आइनसकेको देखिन्छ । ‘अहिलेलाई एक तला मात्रै पार्किङ सञ्चालनमा छ । महानगरले त्यो गरिरहेको हो, पूरै पार्किङ क्षेत्रमा बत्ती, वायरिङ लगायत काम बाँकी नै छ,’ केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९भवन तथा आवास० का एक अधिकारी भन्छन् । बेसमेन्टतर्फ रहेको शौचालय समेत पूर्णरूपमा सञ्चालनमा आइसकेको छैन ।