Breaking News

 मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नतिको तयारी

जलजला पर्बत, करिब दुई दशक अघि ट्रयाक खोलिएको जलजलाको मिलनचोक–लेखफाँट–सालिजा जोड्ने सडक स्तरोन्नति हुने भएको छ । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा सालिजा जोड्ने उक्त कृषि सडक चालु आर्थिक वर्षमा स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको हो ।

सङ्घीय र प्रदेश सरकारको गरी कुल तीन करोड ८४ लाख रुपियाँ लागतमा जलजला गाउँपालिका ७ मिलनचोक बजारदेखि लेखफाँट हुँदै सालिजा जोड्ने उक्त कृषि सडकको स्तरोन्नति हुने भएको हो । कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण र आवतजावतमा सर्वसाधरणहरुले वर्षौँदेखि समस्या भोग्दै आएका छन् । ट्रयाक खोलेको दुई दशकपछि सडक स्तरोन्नति योजना सञ्चालन हुने भएपछि स्थानीयहरू उत्साहित भएका छन् ।

गण्डकी प्रदेश सरकारले मिलनचोक बजारदेखि लुङ्गदी खोलाको मोटरेबल पुलसम्म करिब पन्ध्र सय मिटर दूरीको सडक स्तरोन्नति गर्न एक करोड ७९ लाख रुपियाँ बजेट स्वीकृत गरिसकेका छ ।
बहुवर्षीय ठेक्का लगाएर योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ७२ लाख रुपियाँ विनियोजन गरेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । योजनामा सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान र सोलिङको काम हुने पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो।

सडक निर्माणका लागि निर्माण व्यवसायी युग विल्डर्स एण्ड सप्लायर्स प्रा।लि पोखरासँग १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौताको चरणमा रहेको उहाँले बताउनुभयो।

यसैगरी लुङ्गदी खोलाको मोटरेबल पुल देखिमाथि सङ्घीय सरकारको बजेटबाट सडक स्तरोन्नति हुने तयारी गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । सङ्घ र प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नतिको काम अगाडी बढाएको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय पोखराले कार्यान्वयन गर्ने उक्त योजनाका लागि चालु आर्थिक वर्षमा दुई करोड १५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । सडक डिभिजन कार्यालयका पोखराका सब इन्जिनियर लोकेश पौडेलले थप बजेट स्वीकृत गराएर बहुवर्षीय ठेक्का लगाउने तयारी भएको जानकारी दिनुभयो ।

लुङ्गदी खोलाको पुल देखि सालिजा सम्मको सडक फराकिलो, नाली निर्माण, ढलान र कालोपत्रे गर्नका लागि करिब ८ करोड बजेट आवश्यक पर्ने अनुमान छ उहाँले भन्नुभयो, ूअर्थ मन्त्रालयले बजेटको स्रोत सुनिश्चित गरेमा बहुवर्षीय ठेक्का लगाएर काम थाल्ने छौँ । पूर्व मन्त्री तथा पर्वतका सांसद पदम गिरीले अर्थमन्त्रालयसँग थप बजेट माग गर्ने बताउनुभएको छ । बजेटको टुङ्गो लगाएपछि ठेक्काको प्रक्रिया अघि बढ्छ ।ू

निर्वाचनका बेला सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए अनुसार आफूले उक्त सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनका लागि पहल गरेको पूर्व मन्त्री तथा सांसद पदम गिरीले बताउनुभयो । सडक डिभिजन कार्यालय पोखराका प्राविधिक सहित सडक अनुगमन गर्न आउनुभएका सांसद गिरीले आगामी दुईवर्ष भित्रमा मिलनचोक–लेखफाँट–सालिजा सडक कालोपत्रे सहित स्तरोन्नति योजना सम्पन्न गर्ने गरी काम अगाडी बढाउन सम्बन्धित निकायमा पहल गर्ने स्थानीयवासीहरुसँग प्रतिबद्धता व्यक्त गर्नुभयो।

सडक स्तरोन्नति योजना सञ्चालन हुने भएपछि सालिजाका किसानहरू उत्साहित भएको स्थानीयवासी नीलकण्ठ सुवेदीले बताउनुभयो । सडक स्तरोन्नति भएपछि जलजलाको वडा नम्बर ४ खोलाखेत,५ को रातामाटा, लेखफाँट, ६ को भोटेडाँडा, सालिजा र ठोटनेरीका स्थानीयहरू लाभान्वित हुनेछन् ।

कृष्ण कार्की, गण्डकी ब्यूरो