Breaking News

महिला देखिन हर्मोन खाने तेस्रोलिंगी क्रिष्टिनाको कलिलै उमेर निधन

काठमाडौँ । जन्मँदा बालक भएर जन्मिए, परिवारले नाम राख्यो शेरबहादुर। हुर्कँदै बढ्दै जाँदा शेरबहादुरमा पुरुषको स्वभाव आएन। दिदीको कपडा लगाउँथे उनी। आमाले सम्झाउँथिन, तैँले दिदीको जामा,कुर्ता सुरुवाल लगाउने होइन भनेर। शेरबहादुर महिलाको ड्रेसमा हिँड्न रुचाउँथे। तनहुँ केशवटारका स्थायी बासिन्दा उनले कक्षा १२ सम्म अध्ययन गरे। साथीसँग २०६६ सालमा काठमाडौँ आए। आफूजस्तै साथीहरू भेट्टाए। ब्लु डायमन्ड सोसाइटीसम्म पुगे। सोसाइटीले गर्ने कार्यक्रममा सहभागी हुन पाउने उनले काम भने पाएनन्। काम नपाएपछि यौन पेसा अपनाए। केही आम्दानी गर्न थालेपछि उनले बिरामी बाबाआमालाई काठमाडौँ बोलाए। अङ्कलको जग्गामा टहरा बनाएर बाबाआमालाई राखे। आफू साथीसँग सामाखुसीमा बसे।

आमालाई घर खर्च दिन गइरहन्थे। काठमाडौँको नयाँ बसपार्क वरपर रात बिहान सडकमा ग्राहक खोजी बस्थे उनी। घरमा भने उनले आफ्नो पेसाबारे केही बताएका थिएनन् र अहिले पनि बाबाआमालाई संस्थामै काम गर्थ्यो भन्ने नै छ। उनी पनि बाध्य भएर संस्थामा काम गर्छु भन्थे। उनले आफूलाई तेस्रो लिङ्गी महिला पहिचानमा चिनाउँथे। उमेरले ३१ वर्ष भएका शेरबहादुरले नाम परिवर्तन गरेका थिए। राखेका थिए क्रिष्टिना। आफू जस्तै व्यक्तिको अधिकारका लागि खुलेको संस्थामा काम गर्छु भनेर बाबाआमालाई सुनाउँथे उनी। २०५० मा जन्मेका हुन् क्रिष्टिना। उनमा सानै उमेरदेखि नै केटीको हाउभाउ थियो। जन्मँदा बालक जन्मे पनि महिला हाउभाउ मात्रै होइन, लुक्स पनि तेस्रो लिङ्गी महिलाकै थियो। घरपरिवारले पनि स्वीकारेको थियो उनलाई।

भरखरै ३१ वर्ष लागेका क्रिष्टिनाको निधनले आमा बेलीमाया पीडामा छिन्। ज्वरो आएर वाकवाकी गरेपछि शिक्षण अस्पताल हुँदै चिरायुमा पुर्‍याउँदा क्रिष्टिनाको निधन भयो। रुम पार्टनर साथीले उपचारमा लाग्ने खर्च तिरे। ४० हजार खर्च भयो,समुदायका साथीहरूले उठाएर दिन्छौ भनेका थिए,मैले पर्दैन भनेको छु,ती साथीले भने,सँगै आएको साथी गुमाउनु पर्‍यो, पैसा त के हो र ? क्रिष्टिना महिला जस्तो देखिन औषधी खाने गर्थिन। खाने छोड्ने गरिरहन्थिन,पछिल्लो एक वर्षदेखि खान छोडेकी थिइन,ती साथीले भने,विदेश गएका साथीहरूले ल्याएर बेच्थे, उनी किनेर खान्थिन। हर्मोन खाने गरेको आमालाई पनि थाहा थियो। औषधी खाएको भन्थिन क्रिष्टिना। आमा बेलीमायाले हर्मोन नखान भनिरहन्थिन। क्रिष्टिनाले एक वर्ष अघि देखि औषधी (हर्मोन) खान छोडेको बेलीमाया सुनाउँछिन्।

क्रिष्टिनाका एक जना भाइ छन्। दिदीले दुई वर्षअघि मात्रै हो प्राण त्यागेको। दिदी गुमाएको पीडामा भुल्न नपाउँदै आमाबाबाको हेरचाह गर्दै आएकी क्रिष्टिना बिरामी भएको एकै दिनमा अस्ताइन। घरपरिवारले पनि तेस्रो लिङ्गी पहिचान स्वीकार गरेको थियो। तेस्रो लिङ्गी महिला देखिनका लागि हर्मोन खाने गरेको क्रिष्टिनाका बुबा पहलसिंहले पनि सुनेका थिए। तर, क्रिष्टिना पहिला खाएर अहिले छोडेको बताउँथिन। जन्मँदा बालक जन्मेका तर, हुर्कँदै जाँदा महिला स्वभाव भएकाहरूले अन्धाधुन्ध हर्मोन सेवन गरेको समुदायका सदस्यहरू बताउँछन्। ब्लु डायमन्डकै नेतृत्व यतिबेला तेस्रो लिङ्गी पहिचानको सट्टा कि महिला कि पुरुष कै पहिचानको मुद्दा बोकेर हिँडेको छ।

महिला भए पुरुष जस्तो र पुरुष भए महिला जस्तै देखिन अन्धाधुन्ध हर्मोन खान ब्लु डायमन्डको यो मुद्दाले उक्साइरहेको समुदायका सदस्यहरू बताउँछन्। हर्मोन खाने ३ जनाको ६ महिनाको अन्तरालमै मृत्यु भएको छ,त्यो पनि कलिलै उमेरमा। ज्यान नै तलमाथि पर्ने हर्मोन खान ब्लु डायमन्ड र मितिनी नेपालले क्लिनिक सञ्चालन गर्न परिवार नियोजन सङ्घसँग सहकार्य नै गरेका छन्। समुदायको जीविकोपार्जनका लागि कुनै कार्यक्रम सञ्चालनमा छैनन्।

नाचगान, रमाइलो गरेर दातृ निकायबाट प्राप्त अनुदान उडाइरहेका छ संस्थाको नेतृत्वले। क्रिष्टिनाको निधन भएको पीडामा रहेको परिवारलाई सहयोग गर्नुको सट्टा ब्लु डायमन्डले तीज प्रोग्रामका नाममा लाखौँ खर्च गरेको पाइएको छ। सिल्भर ओक ब्याङकेटमा तीज प्रोग्राम गरेको ब्लु डायमन्डले एक दिनको बिल मात्र १२ लाख रुपैयाँ भन्दा बढी तिरेको छ। जसको समुदायका सदस्यहरूले आलोचना गरेका छन्।