बुढोपाकाले भन्थे, ‘जंगलमा बाघ कराएसँगै घरको गोठमा बाँधेको खसीबोका हराउँछ ।’ पछिल्लो समय बजारमा बैंक तथा वित्तिय संस्था डुबेको व्यापक चर्चा चलिरहँदा सहकारीमन्त्री बलराम अधिकारीको अभिव्यक्तिले थप पुष्टि गरिदिएको छ ।
सहकारीमन्त्री अधिकारीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सर्वसाधारणले बैंकबाट ऋण लिएर सहकारीमा बढी ब्याजको प्रलोभनमा परी बचत गरेको बताए । अहिलेका सहकारी पीडितहरु साँच्चिकै सहकारी पीडित नभई बैंकको ऋणी भएको उनको दाबी छ ।
बैंकको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर स्पष्ट छ । कोरोना महामारीपश्चात् देशमा आएको मन्दीको प्रभाव यो क्षेत्रमा पनि पर्यो । झण्डै तीन वर्ष भइसकेको छ, घरजग्गा, गाडी र सेयरमा मन्दी छाएको ।
त्यसैले, यी क्षेत्रमा लगानी गर्ने बैंक, वित्तिय संस्थादेखि व्यक्तिसम्म डुबेका छन् । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए । असार ३१ ग्ते उनले मन्त्रिपरिषद् गठन गरे । उनको क्याबिनेटमा विष्णु पौडेल अर्थमन्त्री छन् ।
विष्णु पौडेल अर्थमन्त्री हुनुअघि सेयरको मूल्य प्रतिकित्ता १८ सय रुपैयाँ थियो । दिनमा कारोबार डेढ÷दुई‘ अर्बको कारोबार हुन्थ्यो । तर, असार १७ गते राति नेपाली काँग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति अनि अर्थमन्त्रीमा पौडेलको चर्चासँगै सेयरको मूल्य बढ्न थाल्यो ।
झन् पौडेल अर्थमन्त्री भएको एक महिनाको अवधिमा त सेयरमा एकपछि अर्को रेकर्ड बन्यो । १८ सय रुपैयाँमा झरिसकेको सेयर एक महिनाको बीचमा एकाएक १३ सय रुपैयाँ बढेर ३१ सय रुपैयाँ पुग्यो । दुई अर्ब कारोबारबाट ३० अर्ब कारोबार भयो । जुन इतिहासकै सर्वाधिक पनि हो । अहिले फेरि सेयर घटेको छ । ३१ सय बिन्दुमा पुगिसकेको सेयर अहिले २६ सयमा झरिसकेको छ । कारोबार रकम पनि घटेको छ । यसरी एक महिनाकै बीचमा सेयर दलालीहरुले खर्ब सम्पत्ति जोडे भने सेयरको मूल्य बढेको देखेर लगानी गर्ने सोझासाझा सर्वसाधारण फेरि डुब्ने देखिएको छ । सेयरको मूल्य सम्बन्धित कम्पनीको वित्तिय अवस्था र नाफामा आधारित हुन्छ । कम्पनी नाफा गए त सेयरको मूल्य बढ्ने हो । तर, हाम्रोमा हरेक क्षेत्रमा दलालीको बिगबिगी छ । त्यस्तै सेयरमा पनि भएको हो । सेयरमा ५०–५५ जना ठुला दलालीको हात रहेको बताइन्छ ।
अनि यीनीहरुले मूल्य बढाउँदा बढ्छ त घटाउँदा घट्छ । यी दलालीले आफ्नो सेयर बिक्री गर्ने समयमा ह्वात्तै मूल्य बढाउँछन् तर जब सर्वसाधारणको पालो आउँछ सेयर बेच्ने तब मूल्य घटाइदिन्छ । यसरी सीधासाधी सर्वसाधारण नराम्ररी फस्ने गरेका छन् । बैंक, वित्तिय संस्थाबाट महँगो ब्याजमा ऋण लिएर नाफा हुने प्रलोभनमा सेयरमा लगानी गर्दा हिजो पनि थुप्रै जनता डुबे र आज पनि डुब्ने देखिएको छ । सेयरमा ६५ लाख बढी सर्वसाधारणको लगानी छ । तर, नाफा कमाउने सीमित दलाली छन् ।
सर्वसाधारणलाई त ती दलालीहरुले प्रयोग मात्र गरिरहेका छन् । अनि यो खेल बुझ्न नसक्ने मानिसले सेयरमा लगानी गरेर आफ्नो घरखेत र परिवार नै सिध्याउँछ । सेयर जुवाको अर्को रुप हो । त्यसैले, अब प्रतिबन्ध गर्न आवश्यक छ । बिडम्बना, हाम्रो त सरकार नै जनता डुबाउन लागिपरेको छ ।
प्रधानमन्त्री, अर्थमन्त्री सेयरको कारोबार बढेमा खुशी व्यक्त छन् । किनकि सेयरमा लगानी गर्ने पनि एमालेकै कार्यकर्ता रहेको बताइन्छ । सेयरमा लगानी नगर्नु, डुबिएला भनेर सम्झाउनु त कहाँ कहाँ प्रधानमन्त्री ओली सेयरको मूल्य बढेमा उल्टै केक काट्ने घोषणा गर्छन् । अनि यहीबाट स्पष्ट हुन्छ कि सरकार आफैं जनता डुबाउन लागिपरेको छ ।
सेयरमा मात्र मात्र घरजग्गा र गाडीमा पनि यसरी नै दलालीहरुले सर्वसाधारणलाई फसाएका छन् । हिजो निमुखा किसानबाट रोपनीको पाँच÷दश हजारमा जग्गा किनियो । र, डोजर चलाइयो । अनि त्यँही जग्गाको एकाएक मूल्य बढाएर आनाकै ६०÷७० लाखमा सोझासाझा जनतालाई बेचियो ।
नाफा हुन्छ भनेर मानिसले आफुले जीवनभर कमाएको पैसासहित बैंक, वित्तिय संस्थाबाट समेत ऋण लिएर त्यो घरजग्गामा लगानी गरे । तर, अहिले बैंकको साँवाब्याज तिर्न नसक्दा उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकको ऋण तिर्न पैसा छैन त घरजग्गा बिक्री हुँदैन । गाडीमा पनि यस्तै गरियो । भारतबाट एक लाखमा सवारी किनेर ल्याएर यहाँ पाँच लाखदेखि करोडौंमा बेचिएको छ । अहिले बजारमा दुई वटा कुराको खुब चर्चा छ । एउटा दशैंपछि धेरै कोठा, सटर खाली हुन्छन् । अर्को खोला, नदी, एयरपोर्ट वा इन्धनको डिपो वरपरको घरजग्गा किन्नुहुन्न ।
अहिले सहकारी पीडितहरुको आन्दोलन जारी छ । मीटरब्याज र लघुवित्त पीडित पनि आन्दोलनको तयारीमा छन् । पीडितहरु आन्दोलनमा उत्रिसकेका छन् । तर, रोचक कुरा त के छ भने नि अधिकांशले बैंकबाटै सस्तो ब्याजमा ऋण लिएर सहकारीमा बढी ब्याजको प्रलोभनमा सो रकम राखेका छन् । उदाहरणका लागि बैंकबाट तीनदेखि दश प्रतिशत ब्याजमा ऋण लिइयो । अनि सहकारीमा २० देखि ३० प्रतिशत ब्याजको लागि सो रकम राखियो । तर, सहकारी एकाएक डुब्यो वा भाग्यो । सहकारी डुबेपश्चात् त्यसरी बैंकबाट ऋण लिएर सहकारीमा रकम जम्मा गरेकाहरुको होश आवाज नै गुमेको छ ।
सहकारी भागेपनि बैंकको ऋण त तिर्नै पर्यो नि । तर, कसरी तिर्ने ? पैसा त छैन । यता, लघुवित्तहरुले पनि बैंकबाट सस्तो ब्याजमा ऋण लिएर ७५ प्रतिशतसम्म ब्याजमा कर्जा प्रवाह गरेका थिए । चर्को ब्याजका कारण घरखेत नै सकिएपछि लघुवित्त पीडितहरु संघर्ष उत्रिए । उनीहरु ऋण नतिर्ने अडानमा छन् । अनि उनीहरुले ऋण तिरेनन् भने लघुवित्तले कसरी बैंकको ऋण तिर्छ ? त्यसैले, अहिले चारैतिरबाट बैंक डुब्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंक डुब्ँदैन भनेर जतिसुकै दाबी गरेपनि बजारको अवस्थाले बैंक डुब्ने संकेत देखाइसकेको छ । अर्कोतर्फ, सरकारकै मन्त्रीको अभिव्यक्तिले यसलाई पुष्टि गरिदिएको छ ।
अब बैंक डुब्न केही समय मात्र बाँकी छ । अहिले गाउँ गाउँबाट लघुवित्त लखेट्न थालिएको छ । गाउँदेखि सहरसम्मका घरधनीहरु लघुवित्त, सहकारी सञ्चालनका लागि घर भाडामा दिँदैनन् । किनकि यीनीहरु चोर, ठग हुन् भनेर जनताले थाहा पाइसकेका छन् ।पीडितहरुले आक्रोशमा आएर लघुवित्त, सहकारीमा आगलागी वा तोडफोड गर्दा आफ्नै सम्पत्तिको क्षति हुने डर घरधनीहरुमा बढ्दै गएको छ । त्यसैले, कतिपय घरधनीहरुले त भाडा नै मिनाहा गरेर लघुवित्त, सहकारीहरुलाई सर्न दिएका छन् ।
कोही भने सर्न नमानेपछि घरधनीहरुले वडा कार्यालय, गाउँपालिका, नगरपालिका, महानगरपालिका गुहारेका छन् । सहकारी, लघुवित्त, फाइनान्स र बैंकले एक÷दुई जनालाई मात्र होइन हजारौं जनतालाई सडकछाप बनाएको छ । कोही आफ्नो बचत पीडित नपाउँदा पीडित बनेका छन् भने कोही चर्को ब्याजदरका कारण । बैंक, वित्तिय संस्थाकै कारण सर्वसाधारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । जनता भन्छन्, ‘यीनीहरु ठग हुन्, बन्द गरौं ।’ त्यसैले, अब कि त सरकारले बैंक, वित्तिय संस्था बन्द गर्नुपर्छ । होइन भने जनता आफैंले यी संस्था बन्द गरिदिन्छन् । सहकारीजस्तै बैंक पनि ढिलो चाँडो भाग्ने नै छ । अब जनता सर्तक हुन आवश्यक छ ।