Breaking News

प्रतिक्रान्तिका हर्कतहरू भइरहेको भन्दै यसविरूद्ध फेरि एउटा संघर्ष आवश्यक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरू भइरहेको भन्दै यसविरूद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरूद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरूद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताए।

‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं,’ उनले भने, ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरूद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।’

नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरूद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट गदर्दै उनले विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा आफूहरू बलियो भएकाले संघर्षमा विजय प्राप्त गरेरै छाड्ने बताए।

जनयुद्ध सुरू हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि प्रचण्डको भनाइ थियो।

सुरेश वाग्ले पार्टीे जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रूपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै उनले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिंगो पार्टी पंक्तिमा बलिदानी भाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताए।

‘प्रचण्ड’