Breaking News

पेट्रोलियम पदार्थको भाउ घट्यो

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।

आज आइतबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले शनिबार पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रूपैयाँ घटाएको छ। त्यस्तै आन्तरिक हवाइ इन्धन लिटरमा पाँच रूपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलर घटाएको छ। ग्यासको भाउ प्रतिसिलिन्डर ३५ रूपैयाँ ११ पैसा बढेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राखिएको पनि निगमले जनाएको छ।

निगमले तय गरेको पेट्रोल र डिजेलको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५१ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्।

पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।

पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५४ रूपैयाँ पर्नेछ।