दैलेखमा कोरोना संख्या बढ्दो कोरोेना पृष्टि भएकाहरु पनि क्वारेन्टाइनमै बस्न बिवस

१९ जेठ, दैलेख । दैलेखको नारायण नगरपालिकामा भारतबाट फर्किएका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि हुने क्रम बढ्दो छ ।

तर नगरपालिकासँग अब न भारतबाट फर्किएकाहरुलाई राख्ने क्वारेन्टिन छ, न कोरोना संक्रमितलाई उपचारका लागि लैजाने आइसोलेसन छ ।

नगरपालिकाले एउटा विद्यालयमा ३० बेडको आइसोलेसन बनाएको थियो । तर रोजगारीका लागि भारत गएकाहरु फर्किने क्रम सुरु भएसँगै कोरोना सक्रमितहरु भेटिए र केही दिनमै आइसोलेन वार्ड भरिभराउ भयो ।

बेड थप्न नसकेपछि नयाँ संक्रमितलाई आइसोलेट गर्न नसक्ने अवस्था आएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काका अनुसार ‘नारायण क्याम्पसको क्वारेन्टाइनमा रहेकामध्ये १७ जनालाई संक्रमण पुष्टि भएर पनि आइसोलेट गर्न सकेका छैनौं । त्यही थप १७ जनाको पोजेटिभ आएको खबर आएको छ ।

मेयर रत्नबहादुर खड्काकाअनुसार नगरपालिकाले सुरुमा सामाजिक दुरी लगायतका सबै मापदण्ड पूरा गरेर सरस्वती माविमा २० बेडको क्वारेन्टिन बनाएको थियो । नारायण क्याम्पसमा १०५ बेडको क्वारेन्टिन बन्यो ।

भारतबाट फर्किनेहरुको संख्या बढेसँगै क्वारेन्टिन स्थल थपिँदै गयो, र अहिले २१ वटा पुगेको छ । ‘११–१२ गते २०–२५ गाडीमा मानिसहरु आएपछि जात्रा भयो’ मेयर खड्का भन्छन्, ‘अब सामाजिक दुरीलगायतका मापदण्ड त परको कुरा पानीबाट जोगाउन छत पनि दिन नसक्ने भयौं ।

उनकाअनुसार आइतबार विहानसम्म नगरपालिकाका २१ वटा क्वारेन्टिनमा १४२९ जना छन् । ठाउँ नपुगेर १०५ सिटको नारायण मावि क्वारेन्टिनमा २१९ जनालाई राख्नुपरेको छ । तर भारतबाट आउने क्रम रोकिएको छैन ।