Breaking News

गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतको गृह वडाको खानेपानी निर्वाचनमा सत्ता गठबन्धनबीच नै प्रतिष्पर्धा हुने भएको हो ।

एकातर्फ नेकपा एमालेका नेता एवम् जिल्ला समन्वय समिति भक्तपुरका पुर्व उपप्रमुख सरिता कुँवर नेतृत्वको प्यानल छ भने अर्कोतर्फ नेपाली कांग्रेसका वडा सभापति जगदिश बस्नेत नेतृत्वको समूह चुनावमा प्रतिष्पर्धा गर्दैछन ।

बस्नेतले आफ्नो समूहलाई लोकतान्त्रिक र गैर दलिय समूह भएको दावी गर्नुभएको छ । उहाँले आफु कांग्रेसको नेता भएपनि खानेपानीमा गैर राजनैतिक समूहको नेतृत्व गरेको बताउनुभयो । उहाँले संस्थाको पारदर्शिता र उपभोक्ताको चाहना बमोजिम खानेपानीको शुद्धता र वितरण मूख्य एजेण्डा बनाएको बताउनुभयो ।

खानेपानी चुनावका लागि उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन । दुवै समूहका अध्यक्षहरु आफ्नो टोली लिएर उपभोक्ताका घरघर पुगेर मत मागीरहेका छन । यसैबीच खानेपानीको निर्वाचनमा आचारसंहिता विपरितका गतिविधि बढ्दै गएको छ । सूर्यविनायक नगरपालिकाका कर्मचारीहरु खुल्लमखुल्ला निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गतिविधिमा संलग्न भएको पाइएको छ ।

खानेपानीको निर्वाचन नजिकिँदैं गर्दा मासु र मदिरासहितको भोजभतेर समेत बढ्न थालेको स्थानीय उपभोक्ताहरु बताउँछन । सूर्यविनायक नगरपालिकाका नगर प्रहरी बिश्व फाँजुले खानेपानीका उपभोक्ता समितिका सदस्यहरु भेला गरि खानीपानी चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने गरी भोज खुवाएको जानकारी प्राप्त भएको छ । यस बारेमा प्रमुख प्रशासकिय प्रमुख समेत जानकार रहेको स्रोतले बताए ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुको वडाअध्यक्षसहितका जनप्रतिनिधि एमालेका छन । कर्मचारीहरु पनि एमाले समर्थित नै भएको र उनीहरु पनि खानेपानीको चुनावमा कुँवरको पक्षमा प्रचार प्रसारमा जुटेको बस्नेत पक्षको आरोप छ ।
खानेपानीको चुनावी कार्यक्रम समेत वडा कार्यालयमा भएको छ । शनिवार अध्यक्षका उम्मेदवार कुँवर पक्षले वडा कार्यालयको सभाहलमा चुनावी कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेत, सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता रविन्द्र सापकोटासमेत सहभागी भएका थिए ।
समितिको चुनाव यही भदौ १५ गते शनिवार हुँदैंछ ।-