Breaking News

सर्वसाधारणको घरपरिवार लथालिंग बनाउने पूर्वगृहमन्त्री लामिछानेको निर्णय उल्टाउने कि, गृहमन्त्री लेखकज्यू ?

२०८० फागुल्न २३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री बने । गृहमन्त्री हुनासाथ उनले दरबारमार्ग र ठमेललाई चौबिसे घण्टा खुल्ला गर्ने निर्णय गरे । तत्कालिन गृहमन्त्री लामिछानेको यो निर्णयबाट त्यहाँ व्यापारव्यवसाय गर्दै आएकाहरु निकै खुशी भए । उनीहरुले यो निर्णयको स्वागत गरे ।

उसै त सर्वसाधारण ठग्दै आएका त्यहाँका व्यापारी तथा व्यवसायीहरुले झनै लुटधन्दा मच्याउन पाउने भए । दरबारमार्ग र ठमेल राजधानीको निकै चर्चित ठाउँ हो । यहाँ दिनहु लाखौं सर्वसाधारण आउजाउ गर्छन् । यी ठाउँमा प्रायजसो होटल, रेस्टुरेन्ट, गेष्ट हाउस, ड्रान्स बार, दोहोरी साँझ सञ्चालनमा छन् ।

तर, यहाँका होटल रेस्टुरेन्टमा नक्कली, म्याद सकिएको खाद्य सामानहरु बेचबिखन गर्ने गरेको व्यापक गुनासो छ । यहाँ बेचिने मदिरा सबै नक्कली रहेको बताइन्छ । अर्कोतर्फ, खानेकुरा समेत बासी, गन्ध आएको वा फ्रिजमा कयौं दिन राखेको बेचिन्छ । यसले ग्राहक वा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेको छ ।

दरबारमार्ग र ठमेलका व्यापारी तथा व्यवसायीहरुलाई आफुले कमाए पुग्छ । उनीहरुलाई ग्राहकको कुनै चिन्ता छैन । महँगोमा कुहिएको, बिग्रिएको वा गुणस्तरहीन सामान बेचबिखन गर्छन् । यद्यपि, सम्बन्धित निकाय अनुगमन गर्दैन । यस्ता सामान महँगोमा बेचेर सर्वसाधारण त ठग्छन् नै सँगै राज्यलाई समेत उनीहरुले कर छल्दै आएका छन् ।

ग्राहकसँग सामानको पैसा लिन्छन् तर बिल दिँदैनन् । कतिपयले त चलाखीपूर्ण सामान बेचबिखनको रकम व्यवसायिक खातामा जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गर्छन् । अनि राज्यलाई राजस्व छल्छन् । पछिल्लो समय बजारमा कुनै पनि सामान खरिद गरेपश्चात् मोबाइल बैंकिङ, इसेवा, खल्तीलगायत एपमार्फत सामानको रकम भुक्तान गर्ने क्रम बढ्दो छ ।
ग्राहकले सामान खरिद गरेपश्चात् सम्बन्धित व्यापारी तथा व्यवसायीले राखेको क्युआर कोड स्क्यान गरी त्यसको भुक्तान गर्छन् । तर, व्यापारीहरुले त्यो रकम व्यवसायिक खातामा ट्रान्सफर गर्न नलगाई आफ्नो व्यक्तिगत खातामा जम्मा गर्ने गरेका छन् । यसरी राज्यलाई कर तिर्ने समयमा व्यापार घाटामा गएको भनेर पनि राज्य छलिन्छ ।

दरबारमार्ग र ठमेलमा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिँदा पूर्वगृहमन्त्री लामिछानेलाई त थुप्रै फाइदा भयो होला । त्यहाँका व्यापारी तथा व्यवसायीहरुले उनको पार्टीको सदस्यता लिए होला । के थाहा उनलाई आर्थिक लाभ पनि भयो
कि । चिकित्सकहरुको भनाइअनुसार राति निदाउने मानिसलाई रोग लाग्ने सम्भावना कमै हुन्छ । अहिले दरबारमार्ग र ठमेलका घरधनीहरु रातभर निदाउन सक्दैनन् । एकातिर कुनै घटना घट्ने डर, अर्कोतिर होहल्ला । राति व्यवसाय सञ्चालन गर्न दिँदा दरमारमार्ग र ठमेलका व्यवसायीहरुलाई त फाइदै फाइदा भयो ।

तर, त्यहाँका घरधनीहरु दिनरात भयमा बस्नुपरिरहेको छ । जडियाहरुले राति होहल्ला गर्दा उनीहरु सुत्न पाउँदैनन् । चोर पस्ने डर पनि उत्तिकै छ । मानिसको चाप धेरै हुँदा दिउँसो हिँड्न समेत त्यहाँका सर्वसाधारणलाई सास्ती हुने गरेको छ । त्यहाँका बालबच्चाहरुले पनि होहल्लाका कारण पढ्न पाएका छैनन् । बुढाबुढीहरुलाई त झन् दिनरातको होहल्लाले अर्को समस्या दिएको छ ।

कुनै मानिस दिनभर काम गरेर आएको हुन्छ । कोही बिरामी पनि हुनसक्छ । तर, यस्तो अवस्थामा रातभर सुत्न नपाउँदा झनै ग्राहो हुन्छ । अहिले दरबारमार्ग र ठमेलका घरधनीहरु भन्छन्, ‘राति ९ बजेपछि व्यापार व्यवसाय सञ्चालन गर्नमा रोक लगाउनुपर्छ ।’ व्यापार व्यवसाय गर्ने नाममा आफुहरुलाई दुःख, हैरानी दिएको उनीहरु बताउँछन् ।

यता, बालबालिकाको पढ्ने अधिकार, बुढाबुढीहरुको शान्त वातावरणमा बस्न पाउने अधिकार समेत व्यापार व्यवसाय गर्ने नाममा खोसिएको छ । रात्रिकालिन व्यवसाय सञ्चालन भएपछि धेरैको परिवार तहसनहस बनेको छ । पहिला ९ बजेपछि होटल, रेस्टुरेन्ट, ड्रान्स बार बन्द हुन्थ्यो । जसका कारण त्यहाँ जाने मानिसहरु राति भएपनि आफ्नो घर फर्किन्थे ।

तर, अहिले रातभर व्यवसाय सञ्चालन हुँदा अधिकांश मानिसहरु महिनौं दिनसम्म घर फर्किँदैनन् । उसदे कमाएको पैसा सबै रक्सी नै खाएर सिध्याउँछ । अनि घरमा भएका उसका बालबच्चा पैसा नभएकै कारण पढ्नबाट वञ्चित भएका छन् । आमाबुबा उपचारबाट वञ्चित छन् भने पैसा नभएकै कारण उसका परिवार भोकै सुत्न परेको छ ।

परिवार एकातिर भोकै सुत्दा घरमुलीले भने कमाएको सबै पैसा रक्सी खाएरै सिध्याउँछ । यसले उसको पारिवारिक सम्बन्धमा दरार त आउँछ नै सँगै रक्सीका कारण स्वास्थ्यमा असर परी अकालमै ज्यान जान्छ । व्यवसायीहरुलाई त कमाउनु छ । उनीहरु पहिला आफ्नो सामान विकाउन उधारोमा समेत कारोबार गर्छन् ।

अनि मानिसलाई लत लागेपश्चात् पैसाबिना दिँदैनन् । त्यसपछि व्यक्तिले चोरेर, लुटेर भएपनि पैसा ल्याएर मदिरा पिउँछ । पछिल्लो समय नेपालमा अधिकांशको घरपरिवारको लथालिंग हुनुको कारण पनि रक्सी नै हो । हाम्रो कानूनअनुसार जुवातास खेल्न वा खेलाउन पाइँदैन । त्यस्तै, वेश्यावृत्तिमा लगाउन नपाइने पनि कानूनी व्यवस्था छ ।

यद्यपि, अहिले दरबारमार्ग र ठमेलका व्यापारी तथा व्यवसायीहरुले पैसा कमाउनकै लागि ग्रामीण भेगका चेलीलाई रोजगारीको प्रलोभन देखाई यहाँ ल्याएर वेश्यावृत्तिमा लगाएको पाइन्छ । अर्कोतर्फ, जुवातास पनि खेलाउने गरेका छन् । त्यहाँ गएका ग्राहकसँग पैसा सकिएमा व्यापारी तथा व्यवसायीहरु आफैं मीटरब्याजमा पैसा लगाउँछन् ।

ग्राहकको लाखौं रुपैयाँ पर्ने मोबाइल, गाडी, घडीहरु धितोस्वरुप राख्छन् । अनि तोकिएको समयभित्र रकम नतिर्नेबित्तिकै दश हजार ऋणमा लाखौंको धितो पचाइदिन्छन् । कोहीले पैसा तिर्न नसकेमा गुण्डा पठाएर उसका बालबच्चा अपहरण गर्ने, घरपरिवारलाई धम्क्याउने गर्छन् । यतिसम्म कि ठगी केसमा जेल हाल्छिन् ।

रक्सीको तालमा मीटरब्याजमा लिएको थोरै ऋणले उसको घरपरिवार र जीवन नै सिधिन्छ । त्यसैले, अब सरकारले रात्रिकालिन व्यवसाय सञ्चालनमा रोक लगाउनुपर्छ । गृहमन्त्री रमेश लेखकले जुनसुकै व्यापार व्यवसाय पनि राति ९ बजेपछि चलाउन नपाइने निर्णय गर्नुपर्छ । व्यापार व्यवसाय गर्ने नाममा कसैले पनि कसैको घरपरिवार तहसनहस बनाउने, उसलाई दुःख हैरानी दिन पाइँदैन ।

त्यसकारण अब सरकारले यस्ता व्यापार व्यवसाय राति सञ्चालनमा रोक लगाउनुपर्छ । जनताको बाँच्ने अधिकारको सुरक्षा गर्नु सरकारको दायित्व हो । तर, अहिले व्यापार व्यवसाय गर्ने नाममा जनताको हकअधिकार खोसिएको छ । यसैले, अब गृहमन्त्री रमेश लेखक वा प्रधानमन्त्री केपीशर्मा ओलीले रात्रिकालिन व्यवसाय सञ्चालनमा रोक लगाउनुपर्छ ।

रुषा थापा