Breaking News

नेपालको पर्यटनसँग विश्वले प्रतिस्पर्धा गर्न सक्दैन, ब्रान्डिङ गर्नुपर्छ

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालको बिकासको प्रमुख आधार पर्यटन भएको बताएका छन् ।

थारु समुदायले मनाउने कार्यक्रम गुरही पर्वको अबसरमा कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका राज्यमन्त्री चौधरीले नेपालका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताएका हुन् ।
राज्यमन्त्री चौधरीले भने, ‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको संस्कृति विश्वका कुनै देशमा छैनन् । नेपालको जस्तो सुन्दर र रमणीय पर्यटकीय गन्तव्य अन्य कुनै देशमा छैन् । त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन् ।’

यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुने राज्यमन्त्री चौधरीको तर्क छ ।

‘अब हामीले यहाँको हरेक पर्यटकीय गन्तव्यको पहिचान, त्यसको प्रबद्र्धन, संरक्षण र प्रचारप्रसार गर्नुका साथै घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि सुरक्षा देखि लिएर हरेक सेवा सुविधाको उचित व्यवस्थापन गर्नुपर्छ’, उनी भन्छन्, ‘त्यसका लागि सरकारले पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्छ । किनकी, विश्व बजारले नेपालको जुन क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्दैन् । हामीले त्यही क्षेत्रमा फोकस गरेर बिकासका अबधारणा अघि बढाए मात्रै देश धनी हुन्छ । आर्थिक रुपमा अब्बल हुन्छ ।’

राज्यमन्त्री अरुण कुमार चौधरी