Breaking News

राणाकालीन विद्यालयको दर्दनाक अवस्था 

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।  सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप हुने अवस्थामा पुगेको देख्दा आफूलाई ज्यादै दुःख लागेको बताउनुभयो ।

उहाँले भूकम्प देखि हाल सम्म विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा विद्यालयले चालेको कदमको विषयमा जानकारी लिनु भएको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय निकायको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको र टहरामा नै अध्यापन गराउन बाध्य भएको बताउनुभएको थियो ।

विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएका कारण पुरातत्त्व र स्थानीय निकायको चेपुवामा पर्दा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ढिलाइ हुँदै आएको सरोकारवालाहरूले बताएका थिए ।

विद्यालय अनुगमन पस्चात मन्त्री खड्गीले विद्यालय निर्माणका लागि प्रदेशबाट सक्दो पहल गर्ने बताउनुभएको थियो । उहाँले शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको र शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरीक्षण गरेको बताउनुभएको थियो । सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणा अनुसार काम गर्ने निर्देशन मन्त्री खड्गीले दिनुभएको छ  ।

निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेस गर्न उहाँले विद्यालयहरूलाई निर्देशन दिनुभएको थियो । प्रदेश सरकार शिक्षाको विकास र विद्यार्थीहरूको भविष्य प्रति गम्भीर भएर अघि बढेको उहाँको भनाई छ ।

अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरूको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने जानकारी दिएका थिए  ।

अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।