Breaking News

मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेर एक युवकको मृत्यु

२६ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेर एक युवकको मृत्यु भएको छ ।

सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफाल्दा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हामफालेपछि घाइते भएको उनको मनमोहन कार्डियो सेन्टरमा नै उपचार गरिएको थियो । तर शनिबार दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी त्रिवि शिक्षण अस्पताल तथा मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा उनका आफन्त पनि नरहेको प्रहरीले जनाएको छ । उनी एस क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हामफालेको पाइएको प्रहरीको भनाइ छ ।