Breaking News

देशको पानी नपिउने प्रधानमन्त्रीलाई जनताको समस्याबारे के थाहा ?

बर्खायाम लागेसँगै देशभर बाढीपहिरोले वितण्डा मच्चाएको छ । कँही पहिरोले घर पुरिएको छ त कतै घरभित्र बाढी पसेको छ । अधिकांश घर डुबानमा समेत परेका छन् । बर्खाको समय भएसँगै काठमाडौं उपत्यकाबासी खानेपानीका तड्पिएका छन् । किनकि उनीहरुको घरमा जोडिएको धारामा पानी आउँदैन ।

उपत्यका मात्र होइन देशका अन्य जिल्लामा समेत खानेपानीको समस्या निकै जटिल बन्दै गएको छ । वर्षातमा त झनै पानी नआउँदा सर्वसाधारण पीडित हुने गरेका छन् । यसको ज्वलन्त उदाहरण धरान नै हो । यता, कतिपय ठाउँमा पानी ल्याउनका लागि तीन घण्टा भीरको बाटो हिँड्नुपर्ने बाध्यता छ ।

ग्रामीण भेगमा अहिले पनि पानी नपाउने भएकाले त्यहाँका जनताहरुएक गाग्री पानीका कारण रातभर धारामा बस्छन् । पानी निकै महत्त्वपूर्ण छ । मानिस, पशुपन्छी, जनावर कोही पनि पानीबिना बाँच्न सक्दैन । मानिस जन्मिदा र मर्दा पनि पानीकै आवश्यकता पर्छ । तिर्खा मेटाउनदेखि घरायसी काम गर्न, शौचालय जान, कपडा धुनसम्म पानी चाहिन्छ ।
घरधनीहरु घर भाडामा लगाउँछन् । ठाउँअनुसार एउटा कोठाको पाँच हजारदेखि २० हजार, एक फ्ल्याटको ३० हजारदेखि तीन लाख, एउटा सटरको २० हजारदेखि १८ लाखसम्म असुल्छन् । बत्ती, पानी, फोहोर, इन्टनेटको पैसा दोब्बर लिन्छन् । तर, पानी चाँहि दिँदैनन् । बजारमा पानी किन्न पाइन्छ तर निकै महँगो छ ।

व्यापारीहरु एक जार पानीको ६० देखि एक सय रुपैयाँसम्म लिन्छन् । एक बोतल पानीको २५ देखि ५० रुपैयाँसम्म
लिइन्छ । यता, ट्यांकरअनुसार एकै टयांकर पानीको दुई हजारदेखि पाँच हजारसम्म उठाइन्छ । जार, बोतल, ट्यांकरलगायत बजारमा बेचबिखन हुँदै आएका सबै पानी खोला वा जमिनमुनिको हो । अहिले ढुंगे धारा, पोखरी, कुँवा निकै कम छन् ।
त्यसैले, पानी नहुने जनता पानी पिउनबाट समेत वञ्चित हुने देखिएको छ । वर्तमान सरकारमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री छन् । उनी झण्डावाला गाडी चढेर हिँड्छन् । प्रधानमन्त्री कार्यालय र सिंहदरबारमा दाँयाबाँया राष्ट्रिय झण्डा र सुरक्षाकर्मी राखेर बस्छन् । विडम्बना, उनले पिउने पानी नेपालको होइन ।

प्रधानमन्त्री ओली नेपालको पानी पिउँदैनन् । उनी एकै दिन ७० हजार रुपैयाँ बराबरको विदेशी पानी किनेर पिउँछन् । २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुदा ओलीले देशभरबाट तुइँन हटाउने निर्णय गरेका थिए । यद्यपि, अहिलेसम्म दुर्गम जिल्लामा पुल नहुँदा तुइँनबाटै खोला तर्नुपर्ने बाध्यता छ । कतिपय सर्वसाधारणले तुँइनबाट खोला तर्दा ज्यानै गुमाएका छन् ।

प्रधानमन्त्री ओली अहिले फेरि रेल र पानी जहाजको कुरा गरिरहेका छन् । उनी ०७४ फागुल्न ३ गते दोस्रो पटक प्रधानमन्त्री हुदाँ नेपालको विदेशी ऋण सात खर्ब थियो । तर, ०७८ असार २८ गते पदमुक्त हुँदा नेपालको विदेशी ऋण २१ खर्ब पुग्यो । विदेशीबाट ऋण ल्याएर आफ्नो क्षेत्रमा भ्युटावर बनाए ।

यसअघि प्रधानमन्त्री हुँदा ओली पटकपटक बिरामी भए । सिंहदरबारभन्दा बढी उनीस्वदेश तथा विदेशको अस्पतालमा हुन्थे । उनको उपचारका लागि मात्रै जनताले तिरेके खर्बौ कर सकिएको छ । अहिले उनी दैनिक ७० हजारको विदेशी पानी पिउँछन् । तर, त्यत्रो मूल्य पर्ने पानी किन्न पैसा कहाँबाट आयो ? अहिले सर्वसाधारण भन्छन् ।

किनकि ओली न त कुनै व्यापारी हुन् न त उनको कुनै जागिर नै छ । गरिब परिवारमा जन्मिएका उनी पटकपटक मन्त्रीसहित प्रधानमन्त्री बने र अहिले पनि मुलुकको प्रधानमन्त्री नै छन् । तर, प्रधानमन्त्रीको तलब मात्रले त दैनिक त्यो पैसा पर्ने पानी पिउन सकिँदैन नि त ? अहिले सर्वसाधारण भन्छन्, ‘कतै ओलीले देश बेच्ने सर्तमा त विदेशीबाट महँगो पानी ल्याएर खाइरहेका छैनन् !’

अब प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई बताउनुपर्छ कि उनले यत्रो महँगो पानी कहाँबाट पैसा ल्याएर खाइरहेका छन् । राज्यलाई कर तिर्ने, राजनीतिक दललाई मतदान गर्ने जनता खान नपाएर, उपचार नपाएर मरिरहेका छन् । केही दिनअघि मात्र शास्त्रीय संगीतज्ञ गुरुदेव कामतको निधन भयो । मिर्गौला रोगबाट पीडित उनले उपचार गर्ने पैसा नहुँदा ज्यान
गुमाए ।

उनी त उदाहरण मात्रै हुन् । नेपालमा धेरै यस्ता व्यक्तित्व छन्, जसले आफ्नो जीवन राष्ट्रको सेवाका लागि वा आफ्नो देशलाई विश्वसामु चिनाउन लगाएका छन् । विडम्बना, तीनैलाई राज्यले नहेर्दा उनीहरुले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ । हाम्रा नेताहरु अलिकति पेट दुख्नेबित्तिकै उपचारका लागि विदेशी अस्पताल पुग्छन् ।

तर, राष्ट्रिय कलाकार/संगीतकारदेखि सर्वसाधारणसम्म उपचार नपाएर मर्नुपरिरहेको छ । दुभाग्यको कुरा त के छ भने जनताले उपचार समेत राम्रो पाउँदैनन् । सरकारले जनताका लागि भन्दै सरकारी अस्पतालको त स्थापना गरिदिएको छ । तर, अहिले सरकारी अस्पतालमा जाँदा खुट्टा टेक्ने समेत ठाउँ हुँदैन । फेरि निजी अस्पतालमा जाँदा मानिससँग पैसा
हुँदैन । अनि उपचारका लागि त्यहाँ पुगेका जनता अस्पतालमा बेड नभएपछि भुँईमै सुतेको पनि भेटिन्छ ।

रोग लागेर मर्नै लाग्दा समेत सरकारी अस्पतालका चिकित्सकहरु बिरामीको चेकजाँच गर्दैनन् । कतिपय बिरामीले त पालो कुर्दाकुदै ज्यानै गुमाएको पनि थुप्रै घटना छन् । यता, नेताहरुका लागि मुलुकमै सुविधासम्पन्न अस्पताल भएपनि उनीहरु उपचारका लागि विदेश पुग्ने गरेका छन् । केही महिनाअघि संसद भवनबाट निस्कदा ओलीलाई सञचारकर्मीले सोधेका थिए, ‘तपाईँ देशको प्रधानमन्त्री बन्न लाग्नुभएको हो ?’

उनको जवाफ थियो कि ‘म अझै एक÷दुई वर्ष प्रधानमन्त्री बन्दिँन ।’ यता, गिरिबन्धु प्रकारणबारे सोध्दा उनले ठाडै काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) गएर सोध्नुस् भनेर भने । उनले आफुमाथि लागेको आरोपको समेत खण्डन गर्न सक्दैनन् । ०७८ बैशाख ७ गते र मंसिर १३ गतेको मन्त्रिपरिषद्को बैठकले झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गरेको थियो ।

अनि त्यतिखेर देशको प्रधानमन्त्री ओली थिए कि बालेन ? अरुमाथि खनिएर आफु पन्छिन पाइँदैन प्रधानमन्त्री ओलीज्यू । केही दिनअघिको मन्त्रिपरिषद् बैठकमा उनले आफु दुई वर्ष प्रधानमन्त्री हुने तर एक हप्ताअघि नै राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताए । यसअघि ३९ महिना प्रधानमन्त्री हुँदा ओलीले बालुवाटारमा बसेर बाँसुरी बजाउनेदेखि देशको नक्सालाई केक बनाएर काटेर खाए ।

यतिसम्म कि सरकारको विरोध गर्नेलाई कालो अरिंगालजसरी डस्नु भनेर निर्देशन दिए । उनले प्रधानमन्त्री भएपनि केही काम गरेनन् । अनि पार्टीबाटै विरोध शुरु भएपछि पद छोड्नुपर्ने डरमा ओलीले संविधानविपरीत ०७७ पुस ५ गते र ०७८ जेठ ५ गते दुई पटक संसद विघटन गरिदिए । अहिले शेरबहादुर देउवाले आफ्नी श्रीमती डा.आरजु राणा देउवा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जाने भएपछि ओलीसँग मिलेर सरकार गठन गरेका हुन् ।

काँग्रेस–एमाले मिल्दा अहिले कसैले पनि आपत्ति जनाएका छैनन् । किनकि देउवाले सबैलाई फकाएर राखेका छन् । ओलीसँग मिल्दा काँग्रेस पार्टीभित्र विरोध हुने देखिएपछि उनले शेखर कोइरालालाई अर्को चोटी पार्टी सभापति बनाउँछु भनेर फकाएका छन् । कोइराला पनि पार्टी सभापति पाउँछु भनेर चुप लागेर बसेका छन् ।

ओली प्रधानमन्त्री भएको महिनौं हुन लागिसकेको छ । तर, उनले अहिलेसम्म केही काम गरेका छैनन् । न त यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउन सकेका छन् न त नयाँ ट्याक्सी, ढुवानी गाडी, फोस्टक ट्याम्पोको नै दर्ता खुलाएका
छन् । यो पटक पनि ओलीले आफ्नो विरोध हुन थालेसँगै संसद विघटन गर्ने छन् । दुई वर्ष त परको कुरा हो, उनले अबको केही महिनामै संसद विघटन गर्ने छन् ।

रुषा थापा