Breaking News

हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद देश छाडेर भागिन

२१ साउन, काठमाडौं । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बर्हिगमन हुन पुगेको छ ।

बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने नेता हसिना आरक्षणको मुद्दालाई लिएर विद्यार्थीले गरेको आन्दोलनका कारण सोमबार राजीनामा दिन बाध्य भइन् ।

हजारौंको संख्यामा भेला भएका आन्दोलनकारीले ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवास गणभवन घेरेपछि उनले अवामी लिग पार्टीकी नेता एवं आफ्नी बहिनी शेख रेहना सिद्धिकीसँगै देश छाडेकी हुन् । उनी हेलिकोप्टर चढेर भारत गएको बीबीसी बंगला सेवाले लेखेको छ ।

हसिना ६ जनवरी २००९ मा प्रधानमन्त्री बनेकी थिइन् । पछिल्लो पटक हसिना ७ महिनाअघि मात्र चौथो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहिस्कार गरेको निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० सिटमध्ये २२२ सिट जितेको थियो । तर, प्रमुख विपक्षी दल बीएनपीले निष्पक्षतामाथि प्रश्न गर्दै चुनाव बहिस्कार गरेको
थियो ।

चुनावका लागि तटस्थ सरकार बनाउन माग राख्दा पनि प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले घातक बल प्रयोग गरेर विरोधीमाथि दमन गरेको आरोप लागेको थियो ।