राष्ट्रिय समाचार समिति रासस। काठमाडौँ, १७ साउन । विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू चैत्य तथा आसपासका सम्पदाहरू सरसफाइ गरिएको छ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा स्वयम्भूमा यही साउन २१ गतेदेखि एक महिनासम्म लाग्ने मेलाको तयारीका लागि सरसफाइ गरिएको हो।
महासमितिका पदाधिकारी, कर्मचारी तथा स्थानियबासीको सहभागिता रहेको उक्त सरसफाइमा करिब पाँच क्विन्टल फोहोर संकलन गरिएको छ।
विश्व शान्ति तथा मानव कल्याणको कामना सहित विभिन्न धार्मिक गतिविधि समेत गरिएको छ।
काठमाडौँ–१५ मा पर्ने उक्त विश्व सम्पदा स्थलमा प्रत्येक वर्ष साउन कृष्ण प्रतिपदादेखि एक महिनासम्म मेला लाग्ने गर्दछ। मेला भर्न काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रको भक्तजन आउने गर्दछन्।
महासमिति अध्यक्ष भिक्षु धर्ममूर्तिले विश्व शान्तिका लागि सन्देश प्रवाह गर्ने स्वयम्भूलाई पवित्र तीर्थस्थलका रुपमा रहेको स्वयम्भूको संरक्षणमा महासमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
महासचिव अशोक बुद्धाचार्यले विश्व सम्पदा सूचीमा अवस्थित स्वयम्भू चैत्यको हालै करिब ५० लाखको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी गराउँदै
परम्परागत मेला पर्वलाई थप व्यवस्थित रूपमा संचालन गर्न स्थानीय तहको सहयोगको अपेक्षा गर्नुभयो।
महासमितिले पुरातत्त्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानसँग समन्वय गरी संरक्षण कार्य गर्दै आएको जनाएको छ ।यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् ।
संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ।
विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायान लगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्दछन । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केही वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो ।