काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी)लाई कारबाही गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता/सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो ।
“प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ,” जारी विज्ञप्तिमा भनिएको छ, “द्वन्द्वलाई बढावा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्ने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुष्ट्याइँबेगर अप्राकृतिक रूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जनागरी सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।”
यसैबीच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानल छुट्टै मापदण्डअनुसार कारबाही गरिएको बताए । “डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामग्री दिन मिल्दैन । केही समयदेखि हामीले त्यस्ता माध्यमबाट प्रसारित मिथ्या सामग्री सच्याउन, सम्पादन गर्न निर्देशन र आवश्यक कारबाही थालेका हौँ”, उनले भने ।
उनले युट्युब च्यानललाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेको जानकारी दिए । सञ्जाललाई दुरुपयोग नभई सदुपयोगगरी सञ्चार क्षेत्रको प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।