Breaking News

एक सरकारी कार्यालयका प्रमुखले रामधुलाई खाए

रौतहटको एक सरकारी कार्यालयका प्रमुखले रामधुलाई खाएको घटना दुई हप्तापछि सार्वजनिक भएको छ । धुलाई गर्ने मान्छे नै मधेस प्रदेश सरकारको मन्त्री बनिसकेपछि एकाएक सामाजिक सञ्जालमार्फत यो कुरा बाहिर आएको हो ।

सर्वसाधारणले पाउनुपर्ने सिञ्चाइको नाममा सिन्कोसमेत नभाँच्ने सदरमुकाम गौरस्थित जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुखले गत असार २४ गते कुटाइ भेटेको कुरा बल्ल छाताछुल्ल भएको छ ।

४० लाखको काम सम्पन्न भइसकेपछि भुक्तानीका लागि सो कार्यालय पुगेका अहिलेका अर्थमन्त्री जितेन्द्र यादवले पुरै काम सम्पन्न भइसकेकोले भुक्तानी माग गरेका थिए । तर कार्यालय प्रमुख सूर्यनारायणलाल कर्णले हाललाई १५ लाख मात्र भुक्तानी दिने बताएपछि नेपाली कांग्रेस रौतहटको सभापतिसमेत जितेन्द्र यादव उर्फ सुनिल सहितको समूहले यादवलाई कार्यालयभित्रै कुटपिट गरेको थियो ।

सरकारी अखडाको चेक काट्ने अन्तिम दिन असार २४ गते भुक्तानीका लागि मन्त्री यादवसहित गएको उपभोक्ता समितिका मान्छेले कार्यालय प्रमुख कर्णमाथि कुटपिट गरेको यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

मन्त्री यादवसहितको उपभोक्ता समितिले लाठीले कार्यालयभित्रै कर्णलाई हानेपछि उनले बल्ल लेखापाललाई ४० लाखकै चेक बनाउन आदेश दिएको भन्दै यतिबेला रौतहटमा त्यसको व्यापक चर्चा भएको छ । कुट्नेले त कुटेरै ४० लाख भुक्तानी लिए तर कुटाई खाने किन मौन भएर बसे भन्दै सामाजिक सञ्जालमा सो घटनाबारे व्यापक चर्चा भइरहेको छ ।

सो कार्यालयले उपभोक्ता समितिमार्फत काम लगाउने र कमिसन नदिए चेक नै नकाटी सर्वसाधारणलाई दुःख दिने गरेको थाहा पाएपछि तत्कालीन समयमा रौतहटका प्रदेश सांसद तथा नेपाली कांग्रेसको रौतहट जिल्ला सभापतिसमेत रहेका यादव उपभोक्ता समितिसँगै सो कार्यालयमा पुगेका थिए । यादव यतिबेला मधेस प्रदेश सरकारको अर्थमन्त्री छन् । सो विषयमा बुझ्न खोज्दा दुवैजना सम्पर्कमा आएनन् ।

साभार  : जनआस्थाबाट