काठमाडौं । अहिले विहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको छ ।
जलसतह तह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । त्यस्तै, काठमाडौंको बुढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ ।
धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।
विभागले आज बिहान ४ः३० बजे गरेको मापनअनुसार पछिल्लो तीन घण्टामा लमजुङको बेसीसहर, खुदीबजार, कुन्चा, घारेढुंगा र धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।