९ साउन, काठमाडौं । १८ असारमा संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरीमाथि छलफल हुँदै थियो । समितिको छलफलमा पुगेकी एक उजुरीकर्ताले करिब साढे २ घण्टा कृष्णमान प्रधानले आफूमाथि गरेको व्यवहार सुनाइन् र सांसदहरूको प्रश्नको उत्तर दिएर समितिबाट बाहिरिइन् ।
त्यसलगत्तै प्रधानको सुनुवाइ गरेर उनको सिफारिसबारे निर्णय गर्नुपर्ने समिति झण्डै तीन सातादेखि निष्क्रिय भयो । राजनीतिक समीकरण परिवर्तन र सरकार फेरबदलका कारण समितिको बैठक बस्न ढिला भएको भनिएपछि उजुरीमा छलफल गर्ने क्रममा पीडितले उठाएको संवेदनशील र गम्भीर प्रश्नका कारण समितिका पदाधिकारीहरू अन्योलमा परेका हुन् । झण्डै तीन साता पछि बुधबार समितिले प्रधानसंग यस मामिलामा सुनुवाइ गरेको छ ।
उनले आधा दर्जन अडियो रेकर्ड र सीसीटीभीको एउटा फुटेज समितिको सचिवालयमा बुझाएकी छन् । उनले करिब दुई घण्टाभन्दा बढी समितिमा धाराप्रवाह आफ्नो विषय सुनाएकी थिइन् । अनलाइनखबरले समितिमा रहेका तीन फरक दलका सांसदहरूसँग कुराकानी गरेर यो सामग्री तयार पारेको हो ।
सन्, २०१७ ताकाको कुरा हो, कुनै एउटा गैरसरकारी संस्थामा काम गरिररहेकी उजुरीकर्ताको परियोजनाको अवधि सकिएको थियो । नयाँ काम खोज्ने सिलसिलामा उनलाई एकजना पूर्वसांसदले नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानसँग भेटाइदिए ।
कृष्णमानले उनलाई बबरमहलस्थित कानून समाजको कार्यालयमा बोलाए । भेटघाटमा करिब ५ मिनेट कुराकानी भयो, उनीहरू छुट्टिए । ‘त्यसपछि मलाई फाट्टफुट्ट रुपमा उहाँको म्यासेज आउन थाल्यो । विभिन्न चाडपर्व र अवसरमा शुभकामनासहित के कसो छ भनेर खबर बुझ्न म्यासेज पठाइरहे’ उनले संसदीय सुनुवाइ समितिमा भनेकी छन्, ‘मसँग उहाँको नम्बर थिएन, जवाफ फर्काइन । पछि मात्रै थाहा भयो ।’
उजुरीकर्ताले अन्यत्र काम गर्ने परियोजनाको अवधि सकिंदै थियो । पूर्वसांसदमार्फत फेरि कामका लागि कुरा अघि बढेपछि कृष्णमानले उनलाई म्यासेज लेखे ‘तिमी मेरो नियमित सम्पर्कमा बस, आफ्नो समस्या भन्ने तर मलाई नभेटेपछि त कसरी काम हुन्छ र ?’ त्यस्तैमा एक दिन साढे ५ बजे कार्यालयमा बोलाए, कुराकानी गरे अनि फेरि अर्को दिन आउन
भने ।
उजुरीकर्ताका भनाइमा भोलिपल्ट उनलाई कृष्णमानले भने, ‘मैले तिम्रो अविभावकत्व लिन्छु, केके हेर्नुपर्छ हेर्छु । समस्या पनि सम्बोधन गरिदिन्छु ।’ त्यसपछि कृष्ण्मानले मुख खोले । उनले उजुरीकर्तालाई जीवनभर गर्लफ्रेण्ड बनाएर राख्ने प्रस्ताव गरे ।
उजुरीकर्ताले संसदीय समितिमा बताए अनुसार, उनी परिवार चलाउन अप्ठेरो अवस्थामा थिइन र जसरी पनि काम खोज्नुपर्ने बाध्यता थियो । समितिका एक सांसदले भने, ‘उजुरीकर्ता विवाहित भएको र उनको समस्या बुझेपछि कृष्णमान झनै उत्साहित भएको उनको भनाइ थियो ।’
त्यसको एक दिनपछि कृष्णमानले फेरि उजुरीकर्तालाई बबरमहलस्थित कार्यालयमा बोलाए । केहीबेर बसेपछि आफ्नो सवारी चालकलाई ‘तिमी घर जाऊ’ भने । अनि एकाएक ढोका लगाएर उजुरीकर्तालाई अंगालो हाले र अठ्याउन खोजे । उजुरीकर्ताले प्रतिवाद गरिन् ।
उजुरीकर्ताको भनाइमा, त्यो दिन कृष्णमानले पीडितमाथि यौन दुर्व्यवहार गरे । अनि केही दिनमा राम्रो काम खोजिदिने आश्वासन दिएर घर पठाए । उजुरीकर्ता घर पुग्दा नपुग्दै सांकेतिक शब्दमा कृष्णमानले उनलाई म्यासेज गरे, ‘आजको कार्यक्रम कस्तो भयो ?’
त्यसलगत्तैको शनिबार उनले उजुरीकर्तालाई फोन गरेर भने, ‘तिमी खुरुक्क अहिले अफिस आऊ, कामको कुराहरू गर्नुछ ।’ भेटमा कृष्णमानले आफूसँग विभिन्न प्रोजेक्ट रहेको, प्रोजेक्टको नेटवर्कमा आफू सधै रहने भएकाले प्रोजेक्टको भ्याकेन्सीबारे थाहा हुने बताएको उजुरीकर्ताले समितिमा बयान गरेकी छन् ।
उनले भनेकी छन्, ‘उसले मलाई जागिर मिलाइदिन्छु भनेको थियो, त्यो बाहेक केही आशा थिएन । अफिसमै बोलाउला र कानूनको क्षेत्रमा काम गर्ने मानिसले मलाई त्यो हदसम्मको हर्कत गर्ला भन्ने कल्पनासम्म थिएन ।’
‘कार्यालयमै नियमित यौन शोषण’
कोरोना भाइरसका कारण २०७६ चैतदेखि देशव्यापी लकडाउन भयो । कृष्णमानले फेरि पीडितलाई कामको आश्वासनमा बोलाउन थाले । छोरी सुत्केरी भएकाले उनको स्याहारसुसारका लागि आफ्नो पत्नी जापान गएको र त्यतिबेला ‘तिमी चाहिने’ भन्दै उनले पीडितलाई बोलाए । उजुरीकर्ताले समितिमा गरेको बयानमा, ‘तिमी मैले बोलाएको ठाउँमा नआए ठिक हुँदैन’ भनेर धम्क्याउँथे ।
त्यसबेला ‘मेरो यो काम होइन, मलाई यस्तोमा रुचि पनि छैन, बाध्य नपार्नुहोस्’ भनेको बताउँदै उजुरीकर्ताले आक्रोश पोखेकी थिइन । कृष्णमानले भने, ‘लकडाउनको बेलामा घरबाटै सहज रुपमा मिल्ने काम मिलाइदिने’ आश्वासन दिए । त्यसक्रममा उनले यूएनडीपी, एडीबी, जाइका लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आफूले कामका लागि फलो गरिदिएको बताएको उजुरीकर्ताको भनाई छ ।
कार्यालय समय सकिएपछि अफिसमा बोलाउने, यौन शोषण गर्ने र बेलुकी घर फर्केपछि ‘म अरुसँग पनि बसेको छु, तर तिमीसँगको प्रोग्राम मलाई विशेष रमाइलो लाग्छ’ भन्दै सांकेतिक म्यासेज पठाउने गरेको उजुरीकर्ताले बयान गरेकी छन् । उनले समितिमा भनेकी छन्, ‘कामको कुरा गर्दा उसले भरेभोलि भन्दै टारिरह्यो, बाध्यतामा पारेर यौन शोषण गरिरह्यो ।’
यसरी निकै कचकच भएपछि एक पटक कृष्णमानले उजुरीकर्तासँग बायोडाटा (सीभी) मागे, अनि एउटा परियोजनाको प्रपोजल पनि त्यही इमेलमा एट्याच गरेर पठाएकी थिइन् । उनले कानून समाजमै जागिर पाएर करिब ५ महिना काम गरिन् ।
समितिमा उनले बयान गरेअनुसार, ५ महिनामध्ये सुरुका ३ महिना कृष्णमानले केही गरेनन् । त्यसपछि नियमित यौन शोषण गरिरहे । उनले ‘थप काम गर्नुपर्ने छ, अरु पनि हुन्छन्’ भन्दै उजुरीकर्तालाई साढे ५ बजेसम्म अफिस बस्न
लगाउथे । अरुलाई घर पठाउँथे ।
‘पोर्न भिडियो ल्याएको पेनड्राइभ बैठक कक्षको स्मार्ट टीभीमा हालेर त्यही हेर्दै शोषण गरिरहे’ उजुरीकर्ताले भनेकी छन्, ‘म हरेक दिन असह्य पीडा सहेर रुँदैरुँदै घर जान्थेँ, मैले आँसु देखाउने कोही थिएन ।’
कृष्णमानले दैनिकजसो ‘अरु काम छ, ५ बजेपछि बस है’ भन्दै म्यासेज पठाउँथे । हैरान भएपछि उजुरीकर्ताले ‘म तिम्रोमा काम गर्न आउँदिन’ भनेर म्यासेज पठाइन् । बयानमा उनले भनेकी छन्, ‘मान्छे यतिसम्म निच होला भन्ने मलाई थाहै थिएन । भोकै बस्छु, तर कुनै हालतमा काम गर्न आउँदिन भनेँ । म बेसरी रोएँ, निकै बेर रोएँ ।’
आफूसँग झगडा गरेर गए नराम्रो हुने र अन्यत्र पनि ‘रेपुटेसन’ बिग्रने भनी कृष्णमानले उजुरीकर्तालाई धम्क्याए । भोलिपल्टदेखि फेरि शोषण दोहोर्याएको भनेर उनले संसदीय सुनुवाइको बयानमा भनेकी छन् ।
अति नै भएपछि उनी कृष्णमानबारे गुनासो गर्न घरमा पुगिन् । श्रीमतीलाई भेटेर, ‘तपाईंको लोग्ने, तपाईंकै हो, मेरो होइन । यसले मलाई अत्याचार गरिरहेको छ’ भनेर गुनासो गरिन् । उजुरीकर्ताको भनाइ अनुसार, कृष्णमानकी श्रीमतीले उनलाई छोरी भनेर सम्बोधन गर्थिन । कृष्णमान बेसरी जंगिए, अनि प्रमाण विना आरोप लगाउने भनेर आक्रोश पोखे ।
भोलिपल्ट कृष्णमानले पीडितलाई बोलाए, गाडीमा राखे । अनि आफैंले गाडी हाँकेर बाटोमा पुर्याएर बेसरी रोए । आफू अप्ठेरोमा परेको र थप वित्यास हुने भन्दै उनले परिस्थिति नबिगारिदिन आग्रह गरे । कृष्णमानले डाँको छाडे, ‘मेरो वरपर सबै शत्रु छन् । म मरे भने पनि मेरो लाश बोक्ने मान्छे हुँदैन । तिमीले मलाई थप अप्ठेरोमा नपार ।’
उजुरीकर्ताका भनाइमा, केही दिनपछि फेरि कृष्णमानले यौन शोषण जारी राखे । त्यसपछि भने आफूले प्रमाण संकलन गर्न थालेको पीडितले बताइन् । यौन शोषणकै दौरान उजुरीकर्ताले केही फोटो खिचेकी रहिछन् । त्यो थाहा पाएपछि कृष्णमान निकै जंगिए ।
मोबाइल नै गायब पारेपछि
उजुरीकर्ताले जागिर छाड्ने निर्णय सुनाइन् । गणेशमान प्रधान (जो कृष्णमानका भाइ हुन् र कानून समाजमा प्रशासन प्रमुखको रुपमा कार्यरत छन्) ले समेत आवेशमा निर्णय नलिन सुझाव दिए । कृष्णमानले केही बाँकी कामहरू सकेपछि कुरा गरौंला भन्दै टारिरहे ।
१ भदौ २०७९ को दिन थियो । केही परियोजनाका प्रपोजल फाइनल गर्ने भनिएको थियो र उजुरीकर्ता कानून समाजमा काम गरिरहेकी थिइन् । उनको झोलामा रहेको मोबाइल फोन एकाएक गायब भयो ।
उनको बयान अनुसार, कानून समाजमै काम गर्ने अर्का एक कर्मचारीले उनको मोबाइल लिएर बाहिर निस्किएछन् र सबै डाटा मेटिएको रित्तो मोबाइल ल्याएर झोलामा राखिदिएका थिए । खिचेको फोटो र संवाद मेट्न त्यसको केही दिनअघि कृष्णमानले उनलाई निर्देशन दिएको उजुरीकर्ताको दाबी छ ।
उजुरीकर्ताले सोझै कृष्णमानलाई फोन गरिन, कृष्णमानले ‘म मिटिङमा छु, तिमीसँग पछि कुरा गर्छु’ भन्दै फोन राखे । प्रहरीकहाँ उजुरी गर्न खोज्दा कृष्णमानका भाइ गणेशमान र अरु केही कर्मचारीले आफूलाई घेरेर राखेको संसदीय समितिमा उनको दाबी छ ।
त्यही झोकमा केही सहकर्मीहरूको ‘मुखमा थुकिदिएको’ उनले स्वीकारेकी छन् । केहीबेरमा कृष्णमान आए, उजुरीकर्ता रोइरहेको देखेपछि भने, ‘दिस इज अफिस, नट योर होम (यो कार्यालय हो, तिम्रो घर हैन)’ भने ।
आक्रोशमा उनले छेवैको टेबुलमा रहेको कपले कम्प्यूटरमा प्रहार गरिन् । ‘म तपाईंलाई अदालतमा उभ्याउँछु’ भन्दै आक्रोशित भएर त्यहाँबाट निस्किइन् ।
उजुरीकर्ताले संसदीय समितिमा पठाएको एउटा अडियो क्लिपमा मोबाइल नै फर्म्याट गरिदिएको विषय उल्लेख छ । उनले कृष्णमानसँगको फोनमा आफ्नो मोबाइलको सबै डाटा मेटिदिएको र सम्बन्धित कर्मचारीलाई कारबाही हुनुपर्ने भनेकी छन् ।
जवाफमा कृष्णमानले भनेका छन्, ‘मैले नै उसलाई कारबाही गर्छु भनेको छु । अरुतिर उजुरी नगर्नु । तिमीलाई क्षतिपूर्ति दिलाइदिन्छु ।’
‘हाकिमको इज्जत जान्छ’
त्यो दिन उजुरीकर्ता सोझै प्रहरी कार्यालय पुग्ने मुडमा थिइन् । अन्यथा हुने देखेका कृष्णमानले अरु दुई कर्मचारीलाई पनि उनको साथमा पठाए । ती कर्मचारीले उजुरीकर्तालाई स्कुटरमा हाले र पशुपतिमा लगेर सम्झाउन खोजे । हाकिम विरुद्ध जाँदा कसैलाई पनि राम्रो नहुने भन्दै शान्त बस्न सुझाव दिएर अल्मल्याएको उनले संसदीय समितिमा बयान गरेकी छन् ।
त्यो दिन उनले तीनकुनेस्थित प्रहरी कार्यालयमा पुगेर सबै कुरा बताइन् । प्रहरीले उनलाई प्रहरी वृत्त सिंहदरबारे पठायो । उनका भनाइमा, उनी त्यहाँ पुग्नुअघि कृष्णमानले पठाएका एक कानून व्यवसायी त्यहाँ पुगिसकेका थिए ।
ती कानून व्यवसायीले ‘हाकिमको पनि इज्जत जान्छ, तिम्रो पनि इज्जत रहँदैन, यसो नगर’ भनेर काउन्सिलिङ गरेको उनी बताउँछिन् । त्यतिबेला कृष्णमानले पनि उनलाई लगातार फोन गरिरहे । भोलिपल्ट अर्का कानून व्यवसायीले भेटेर ‘के माग्छौ, गरिदिन्छौं’ भनेर प्रलोभन दिएको उजुरीकर्ताले समितिमा बताएकी छन् ।
त्यसपछि कृष्णमानले आफू विरुद्ध गालीबेइज्जती र साइबर क्राइमको मुद्दा हालेको उजुरीकर्ताको भनाइ छ । घटनाअघि नै उजुरीकर्ताले कानून समाजका केही कर्मचारीलाई ‘आफूलाई कृष्णमानले शोषण गरेको’ भनी म्यासेज गरेकी थिइन् ।
त्यही व्यहोरा समावेश गरेर साइबर क्राइमको उजुरी दिएको उजुरीकर्ताको दाबी छ । त्यहीबीचमा कानून समाजका १२ जना कर्मचारीले ‘शान्ति सुरक्षाको प्रबन्ध गरिपाउँ’ भनी अर्को उजुरी पनि थपे ।
‘उनीहरू कानूनको एक्स्पर्ट रहेछन्, सबै जानेका’ उजुरीकर्ताले बयानमा भनेकी छन्, ‘मलाई कृष्णमानले शोषण गरिरहे भन्नेमात्रै थाह थियो । पुलिसकोमा पुग्ने बाहेक अरु केही पनि कुरा थाहा थिएन ।’
उजुरीकर्ताका भनाइमा, कृष्णमानले फेरि बोलाए । ‘प्रहरीमा मेरा मान्छेहरू छन्, अदालतमा पनि मेरो धेरै मान्छे छन् । तँ त्यहाँ गएर के गर्न सक्छेस् र ?’ भन्दै धम्क्याए ।
भोलिपल्ट उनी फेरि टेकुस्थित प्रहरी परिसरको महिला सेलमा गएर निवेदन दिइन् । त्यहाँका इन्सपेक्टरले ‘तपाईंहरूको त २५ लाखमा कुरा मिलेको होइन ?’ भन्दै उजुरीकर्तालाई केरकार गर्न थाले । उजुरी त्यही छाडेर उनी फर्किइन् । त्यो कुरा तत्काल कृष्णमानले थाहा पाए ।
कृष्णमाले उजुरीकर्तालाई फोन गरेर बोलाए, गाडीमा राखे अनि बिलौना गर्न थाले । ‘आफ्नो सारा सवर्स्व हुने र परिवार नै बर्बादीमा जाने भन्दै कृष्णमान डाँको छाडेर रोएको उजुरीकर्ताले बयानमा भनेकी छन् ।
त्यसपछि उनको मन फर्किएछ । संसदीय समितिमा आँसु खसाल्दै उजुरीकर्ताले भनेकी छन्, ‘त्यो मेरो ठूलो गल्ती थियो, उसलाई त्यसरी छाड्न हुने थिएन ।’
किन मिलापत्र गरेको ?
त्यसपछि यौन शोषणको मुद्दा परेको र पछि आफूले मिलापत्र गरेको उनले बयानमा स्वीकारेकी छन् । ५०/५० लाख गरी दुई चरणमा एक करोड रुपैयाँको लेनदेनपछि मिलापत्र भएको बताएकी उनले चेकको फोटोकपी समेत समितिमा पेश गरेकी छन् ।
सांसदहरूले उनलाई सोधेका छन्, ‘किन मिलापत्र गरेको ?’
जवाफमा उनले भनिन्, ‘अन्तिममा मेरो जीवन नै धरापमा पर्ने भएपछि मिलापत्र गरेकी हुँ ।’
आफूले तनावका कारण एन्जाइटीको औषधि खानुपरेको र जीवन बर्बाद भएको भन्दै उनी समितिको बयानमा रोएकी थिइन् ।
आफूहरूबीच नोकझोक र झगडा भएपछि पनि कृष्णमानले ‘माया देखाउने र विभिन्न कुरा गरेर झुलाइरहन खोजेको’ उनले बयानमा बताएकी छन् ।
उजुरीमाथिको सुनुवाइका क्रममा सांसदहरूले फेरि उनलाई त्यही प्रश्न गरे ।
‘उसले तँ मरे मर, मेरो इज्जत ठूलो कुरा हो, इज्जत जोगिनुपर्छ भनेको थियो’ उनले जवाफमा भनिन्, ‘उसले मेरो जीवन नै बर्बाद गर्यो । मलाई क्षतविक्षत बनायो । यसको जिम्मेवारी को हुने ? म रोएरै बाँचिरहेकी छु, कसरी चुप लाग्नु ?’
सांसदहरूले घुमाउरो रुपमा ‘पैसा पाएपछि चुप लागेको हो ?’ भनेर पनि सोधेका थिए ।
उनले ‘आफ्नो परिवार र जीवन नै बर्बाद बनाएकासँग क्षतिपूर्ति लिएको’ जवाफ दिएकी थिइन ।
‘म आजसम्म रोएर बाँचेकी छु, ममाथि यति अत्याचार गर्ने मान्छेमा नैतिकता छैन भन्नमात्रै उजुरी दिएकी हुँ’ उनले समितिमा भनेकी छन्, ‘यस्तो मान्छेसँग उच्च नैतिक चरित्र छँदै छैन भन्नमात्रै म यहाँ आएकी हुँ ।’
यसको २२ दिनपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार प्रधानलाई डाकेर उनका बारेमा परेको उजुरीबारे सोधपुछ गर्यो । प्रश्न सोध्ने अधिकांश सांसदहरूले प्रधानको नैतिक चरित्रमा प्रश्न उठाउँदै प्रमाणित गर्न चुनौती दिए ।
जवाफमा प्रधानले, उनी आफ्नो कार्यालय (नेपाल कानून समाज) मा काम गरेको स्वीकारे । ‘उहाँ मेरो अफिसमा काम गर्नुहुन्थ्यो । कानून विपरीत काम गर्न थालेपछि उहाँबारे उजुरी गरियो । अदालतमा मिलापत्रबाट टुंगियो’ उनले समितिमा भने, ‘उहाँले मिलापत्रमा नै झुटा आरोप लगाएँ भनेपछि यहाँ आउनु कानूनसम्मत थियो कि थिएन ?’
विवाद निरुपण भइसकेको विषय भन्दै उनले उजुरीको विषयवस्तुमा प्रवेश गर्न चाहेनन् । प्रधानले उच्च नैतिक प्रश्नको व्याख्यामा पनि त्यस्तै जवाफ दिए । ‘मिलापत्रको कागजातमा उल्लेख भएको बाहेक मैले बाहिर बोल्नु कानून विपरीत हो भन्ने लाग्छ’ उनले भने, ‘उच्च नैतिक चरित्र हो कि होइन भन्ने प्रश्न नआई त्यो निरुपण गर्नु कानूनसम्मत हो कि होइन ?’
प्रधानले आफूमाथिको संगीन आरोपमा प्रवेश नै गर्न चाहेनन् । घटना भएको थियो कि थिएन, मिलापत्र भएको हो कि होइन, लेनदेन हो कि होइन भन्ने विषयमा उनी मौन रहे । अदालतमा भएको मिलापत्रबारे सांसदहरूले देखाएको कागजात भने उनले स्वीकार गरे ।
सांसदहरूको प्रश्न, त्यसपछि प्रस्तावित आयुक्तको जवाफपछि केहीबेर समितिका पदाधिकारीहरूले आन्तरिक छलफल गरेका थिए । समितिको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपतिशम्सेर जबराले अन्तिममा भने, ‘सुनुवाइ बारेको निर्णय तपाईंले छिट्टै सुन्न पाउनुहुन्छ ।’
नेपालको संविधानको धारा २४५ (४) (घ) मा निर्वाचन आयुक्तमा सिफारिस भएको व्यक्ति उच्च नैतिक चरित्रयुक्त हुनुपर्ने उल्लेख छ । अख्तियारका विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दाको व्याख्यामा सर्वोच्च अदालतले पनि ‘कुनै व्यक्ति फौजदारी अभियोगमा कसुरदार नदेखिए पनि उसमा ‘उच्च नैतिक चरित्रको अभाव भएको हुनसक्ने’ व्याख्या गरेको थियो ।
अनलाइनखबरबाट