Breaking News

के हो ग्यास्ट्रिक, कसरी गर्न सकिन्छ समाधान?

धेरैले भनेको हामी सुन्छौं, ‘मलाई ग्यास्ट्रिक छ। खाली पेट बस्नै हुँदैन। थोरै थोरै खाइरहनुपर्छ, नभए पेट दुख्छ। वाकवाक लाग्छ। पेट फुल्छ।’

के भोको पेटमा ग्यास्ट्रिक हुने हो? वा खाँदाखाँदै पनि हुन्छ? या खाने शैली नमिलेर हुने हो?

यो लेखमा ग्यास्ट्रिकका यिनै प्रश्नका उत्तर र समाधानका केही प्रभावकारी उपाय उल्लेख गरिएको छ।

ग्यास्ट्रिकको शाब्दिक अर्थ ‘पेट’ भन्ने हुन्छ। पेटको भित्री तह म्युकोसा सुन्निनु वा रातो हुनुलाई अंग्रेजीमा ग्यास्ट्राइटिस भनिन्छ।

हामीकहाँ पेट पोल्ने, दुख्ने, फुल्ने आदि समस्यालाई ग्यास्ट्रिक भयो भन्ने चलन छ। ग्यास्ट्राइटिसमा पेटको माथिल्लो भाग अर्थात् दुई करङको बीच भागमा, नाइटो वरिपरि र तल्लो भागमा दुख्ने, फुल्ने, वाकवाक लाग्ने हुन्छ। कसैकसैलाई ग्यास सर्दै छाती, पछाडि ढाडको पातासम्म दुख्ने हुन्छ।

सामान्यतया ग्यास्ट्राइटिस दुई प्रकारका हुन्छन्ः एक्युट र क्रोनिक।

एक्युटमा अचानक लक्षण देखिन्छ। खाना मिलाएपछि एक-दुई दिनदेखि हप्ता दिनमा कम हुन्छ।

क्रोनिक भने एक्युट ग्यास्ट्राइटिसको गलत उपचार र अनुचित आहारविहारका कारण हुन्छ। यो लामो समयसम्म रहन्छ। बेला बेलामा सताइरहन्छ।

क्रोनिक ग्यास्ट्राइटिस पनि दुख्ने (इरोजिभ) र नदुख्ने (नन इरोजिभ) गरी दुई किसिमको हुन्छ तर दुवैको लक्षण समान हुन्छ। इरोजिभमा पेटको भित्री छाला खुइलिने, रातो भएर स-साना घाउ र छाला पर्ने हुन्छ। धेरै पेट दुख्ने, वान्ता हुने र दिसामा रगत देखिने हुन्छ। यसको सही उपचार भएन भने पछि अल्सर हुन सक्छ।

नन इरोजिभमा पेटमा घाउ हुँदैन तर भित्री सतह रातो र बाक्लो हुन्छ जस कारण पेटको लचकता कम हुन्छ र खानेबित्तिकै फुल्छ। लामो समयसम्म यस्तो अवस्था रहे अल्सर हुन सक्छ।

खाली पेट बस्दा ग्यास्ट्रिक हुन्छ भनिन्छ तर पेट खाली हुन नसक्दा झन् ग्यास बन्न सक्छ। हामीले खाएको खाना राम्रोसँग पाचन भएर बाँकी आमाशयबाट आन्द्रामा जानुपर्छ। खाना पूरा पच्न कम्तीमा चारदेखि ५ घन्टा लाग्छ। कुचुकुचु वा आवश्यकताभन्दा बढी खाएमा राम्रोसँग पच्न सक्दैन। खाना पेटमै कुहिन्छ र ग्यास बन्छ। त्यही ग्यास यताउति सर्नुलाई ‘गानो सर्नु’ भनिन्छ।

कारणहरूः

  • शरीरलाई चाहिनेभन्दा बढी खानु। जतिसुकै हल्का र प्राकृतिक आहार खाए पनि उकुसमुकुस हुने गरी खाएमा पेट चल्न सक्दैन। पाचन हुन पेट चल्नुपर्छ। पेट नचल्दा खाना कुहिन्छ र ग्यास बन्छ।
  • खाना राम्ररी नचपाइ खानु। छिटोछिटो खाँदा पाचक रस कम हुन्छ, पाचनको काम अवरूद्ध हुन्छ र ग्यास बन्छ।
  • खाना र पानी बीचको समयान्तर नमिल्नु।
  • एक खाना र अर्को खानाको अन्तर कम हुनु।
  • गुण नमिलेका र एकैपटक धेरै परिकारका खाना मिसाएर खानु।
  • धेरै चिल्लो, तारेभुटेका, बढी खुर्सानी, मसालेदार, अमिला र पुराना अचार, बासी वा एकै खाना पटकपटक तताएर खानु।
  • फाइबर कम भएका मैदाजन्य खाना, जंक तथा फास्टफुड खानु।
  • धेरै प्रोटिन र बोसोयुक्त खाना खानु।
  • कब्जियत हुनु।
  • धूमपान, सूर्तिजन्य र मदिरापान गर्नु।
  • चिया, कफी, चिसो पेय धेरै खानु।
  • दिउँसो खाना खानेबित्तिकै सुत्नु। राती ढिला सुत्नु र बिहान ढिला उठ्नु। राम्ररी निदाउन नसक्नु।
  • खाना खानेबित्तिकै भारी व्यायाम वा धपेडी हुने काम गर्नु।
  • तनाव र रिस, लोभ, मोह, डर, चिन्ता जस्ता अनुचित विचार हुनु।
  • शारीरिक व्यायाम नहुनु।
  • धेरै औषधि खानु।

लक्षणहरूः

  • नाइटो र नाइटोभन्दा माथिको भाग दुख्ने।
  • बारम्बार ढ्याउ आउने।
  • मुखमा अमिलो पानी आउने।
  • रिंगटा लाग्ने।
  • वाकवाकी लाग्ने। वान्ता भएमा खाएका कुरा वान्तामा निस्किने, अमिलो गन्हाउने।
  • पेट भारी हुने, पेट पोले जस्तो हुने। खाए पनि, नखाए पनि पेट बटारिने, डम्म हुने, फुलिरहने।
  • खाना नपच्ने, नरूच्ने।
  • ग्यास सरेर शरीरका विभिन्न भाग दुख्ने, छाती भारी हुने, सास फेर्न समस्या हुने, टाउको भारी हुने र दुख्ने।
  • मन बेचैन हुने, निद्रा कम लाग्ने।
  • दिसा कहिलो पातलो त कहिले कब्जियत हुने।
  • ग्यास्ट्रिक बिग्रेर अल्सर भएमा वान्तामा रगत देखा पर्ने।
  • कालो दिसा जाने।

ग्यास बढेको अवस्थामा के गर्ने?

  • ठोस आहार खाए पेट फुल्ने, दुख्ने भएकाले ठोस आहार नखाने।
  • दूध र दुग्धजन्य पदार्थ, चिल्लो, तारेभुटेको, धेरैचोटि तताएको, पिरो, मसालेदार, अमिलो, सिसीमा राखिएको पुरानो अचार, सुख्खा, भुटेका, पोलेका (रोटी, मकै, हरियो मकै, भटमास, चिउरा) नखाने।
  • माछा, मासु, गेडागुडी, अन्डा, दाल, गोलभेँडा, हरियो धनियाँ, तामा, अमिला फल, मैदा, जंकफुड, फास्टफुड, काँचो, चिसो खानेकुरा नखाने।
  • बिस्तारै तातो वा मनतातो पानी मात्र पिउने। तातोपानीले मात्र नभएमा बिरेनुन मिसाएर पिउने। यसले ग्यास निस्कासनमा मद्दत गर्छ।
  • दुवै हात रगडेर तातो बनाएर पेटमा सेक्ने। यसले राहत मिल्छ। ग्यास कम भएपछि झोलिला खानेकुरा, ताजा तरकारीको सुप वा जाउलो खान सकिन्छ। बिस्तारै मसला बिनाको सादा आहार थोरै लिन सकिन्छ।

यसरी विधि मिलाउँदै गरेमा लक्षणहरू हराउन थाल्छन्। आहार, विहारसँगै विचारमा पनि ध्यान दिनुपर्छ। स्वस्थ रहन मन पनि स्वस्थ हुनुपर्छ।

ग्यास्ट्रिकमा योगले पनि धेरै लाभ गर्छ। यहाँ ग्यास निस्कासन गर्न सहयोग गर्ने केही योगासनबारे चर्चा गरिएको छ।

सेतोपाटीबाट

रामदेवी महर्जन