पछिल्लो समय सार्वजनिक सवारीसाधनमा पाकेटमार, घर तथा कार्यालयमा चोरी गर्ने तथा बाटोमा माग्नेको संख्या ह्वात्तै बढेको छ । अहिले माग्नेहरु घर तथा पसलमा समेत आउने गरेका छन् । दिनहुँ दशदेखि २० जनासम्म माग्न मानिसहरु आउने व्यापारी तथा घरधनीहरु बताउँछन् । यता, बाटो, मठमन्दिर, पुलहरुमा पनि माग्ने मानिसहरु यत्तिकै भेटिन्छन् ।
अहिले मृगौला पीडित, क्यान्सर रोगीलगायत अन्य रोगका बिरामीहरु उपचारका लागि सहयोग माग्दै घरघरमा
आइपुग्छन् । बच्चादेखि बुढाबुढी वा वयस्क व्यक्ति समेत माग्न हिडिँरहेको देखिन्छ । कतिपय व्यापारी भन्छन्, ‘हाम्रै त दिनभर व्यापार हुँदैन अनि उनीहरुलाई कसरी सहयोगगर्नु ।’ घरधनीहरु त माग्ने मान्छे आउनासाथ ढोका लगाउँछन् ।
नसुनेकोझैं कोठाभित्र बस्छन् । यता,कोठामा बस्ने आफैं बेरोजगार छन्, काम गरेपनि तलब पाएको छैन अनि कसरी
दिनु ? मुलुकमा रोजगारी छैन । पढेलेखेकादेखि नपढेका सबै युवा बेरोजगार छन् । रोजगारीका लागि दिनरात भौतारिँदा पनि काम नपाएपछि कतिपय युवा त डिप्रेशनमा गएका छन् । कतिपयले आत्महत्या गरेको पनि सुनिन्छ ।
जनता खाना पाइएन वा उपचारका लागि सहयोग माग्दै बाटो, मठमन्दिर, घर, पसलहरुमा मागिरहँदा वा बेरोजगारीका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुँदा सरकारलाई केही मतलब छैन । घरबाट बाहिर निस्किनेबित्तिकै जताततै माग्ने देखिन्छन् । माग्नेको बढ्दो संख्याले देश नै माग्ने भएको अवस्थाको समेत चित्रण गरेको छ । हुन पनि त हो नेपाल कंगाल भइसकेको छ ।
मठमन्दिर, पुल वा बाटोमा बुढाबुढी, बच्चा, महिलाहरु भुइँमा कचौरा, प्लास्टिक राखेर वा हात थापेर बसिरहेका हुन्छन् । उनीहरुलाई देखेपछि दया हुनेले आफुसँग भएको केही रकम वा वस्तु सहयोग गर्छन् भने कोही भने देखेपनि नदेखेझैं हिँड्छन् । अर्कोतर्फ, कोहीलाई सहयोग गर्ने मन भएपनि पैसा हुँदैन । अनि उनीहरुले चाहेर पनि सहयोग गर्न पाउदैनन् ।
आम नागरिकले त यी गरिबका लागि केही भएपनि गरिरहेका छन् । तर, सरकार कहाँ छ ? माग्ने मानिसहरुको बढ्दो संख्या देखेर अहिले कयौं जनताको मनमा प्रश्न उठ्न थालेको छ, ‘नेपालमा सरकार पनि छ र ?’ भनिन्छ कि बलेको आगो सबैले ताप्छ निभेको आगो कसैले ताप्दैन । अहिले बाटोमा माग्ने मान्छे देख्नेबित्तिकै कतिपय भाग्छन् ।
अहिले मानवता हराउँदै गएको छ । दुःख पीडितलाई सहयोग गर्नुपर्छ र उनीहरुलाई समस्या बुझ्नुपर्छ भन्ने सोचाई प्राय कमै व्यक्तिमा मात्र देखिन्छ । आफ्लाई फाइदा हुने भएमा मानिस जुनसुकै काम गर्न तयार हुन्छन् । माग्ने मान्छेको प्रयोग गरेर कतिपय चर्चित पनि बनेको पाइन्छ ।
सामाजिक सञ्जालहरुमा माग्नेको भिडियो हाल्ने अनि सहयोगस्वरुप उठाएको रकम आफैंले खानेको पनि यहाँ कमी छैन । नेपालमा करोडदेखि अर्ब पर्ने घरमा मानिसहरु बस्छन् । करोडौंको चिल्लो गाडीमा चढ्छन् । लाखौं मूल्यको मोबाइल बोक्छन् । कालोचस्मा लगाउँछन् । र, दिनहुँ कपडा फेर्छन् । रोचक कुरा त आफ्नो घरमा कुकुर पाल्छन् ।
अनि सार्वजनिक बाटोमा ल्याएर दिसापिसाब गराउँछन् । ठुला महलमा बसेकासँग पैसा त थुप्रै हुन्छ तर मानवता हुन्न । अहिले गरिबको झुपडीमा माग्न गएमा पाइन्छ तर ठुला घरमा माग्न गएमा रित्तै फर्किनुपर्छ । माग्ने मान्छे आएको थाहा पाएपछि ठुलाबडाहरु घरको गेट नै खोल्दैनन् । बाटोमा समेत माग्ने देख्नासाथ नदेखेझैं हिँड्छन् ।
दिन गएपछि रात आउँछ र रात गएपछि दिन आउँछ । मानिस सधैं एउटै परिस्थिति वा अवस्थामा मात्र रहँदैन । मेहेनतअनुसार गरिब धनी बन्न सक्छ भने घमण्डका कारण धनी गरिब पनि बन्न सक्छ । अहिले बाटोमा माग्न बसेका अधिकांश भन्छन्, ‘बैंकले घरजग्गा सबै खाइदियो । त्यसैले, हामी माग्ने अवस्थामा पुगेका हौं ।’
अर्कोतर्फ, व्यापारव्यवसायमा गरेको लगानी डुब्दा, सहकारी, लघुवित्त, फाइनान्समा राखेको रकम डुब्दा, घरपरिवारले निकालदिँदा वा अभिभावक नै नभएकोले माग्न बस्नु परेको बताउँछन् । बाटोमा बस्ने अधिकांशसँग नागरिकता वा जन्मदर्ता छैन । त्यसैले, उनीहरु राज्यबाट उपलब्ध हुने सेवासुविधाबाट समेत वञ्चित भएका छन् ।
वर्तमान सरकारमा नेकपा एमालेका अधयक्ष केपीशर्मा ओली प्रधानमन्त्री छन् । उनको पृष्ठभूमि केलाउने हो भने उनी तेह्रथुममा एक गरिब परिवारमा जन्मिएका हुन् । यसअघि पनि प्रधानमन्त्री भइसकेका उनको जनताले तिरेको करबाट अर्बौ खर्चिएर दुई वटै मृगौला फेरिएको छ ।
जनताले तिरेको करबाट ओलीको मृगौला फेरिँदा कर तिर्ने जनता भने आज उपचारका लागि सहयोग माग्दै बाटोमा माग्नु परिरहेको छ । आफुले राजनीतिक परिवर्तनका लागि वर्षौ जेल जीवन कटाएको दाबी ओलीले गर्दै आएका छन् । तर, उनले कर्तव्य ज्यान मुद्दा अर्थात् मान्छे मारेर १४ वर्ष जेल जीवन बिताएका हुन् ।
अहिले ओलीको बालकोटमा आफ्नै आलिशान घर छ । झापा, तेह्रथुममा पनि उनको घर रहेको बताइन्छ । यता, विदेशी बैंकमा अर्बौ रकम रहेको पनि सुनिन्छ । यसरी नेताहरुले देश र जनताको सेवा गर्छु भन्दै अर्बौ भ्रष्टाचार गरेका छन् । आफ्ना दश पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । तर, जनता भने उपचारका लागि वा खाना नपाएर माग्न हिँडिरहनु परेको छ ।
सरकारी कर्मचारी र जनप्रतिनिधिहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । पोशाक लगाउँछन् । चिल्लो सरकारी गाडी चढ्छन् । काम केही गर्दैनन् तर तलबसुविधा बढाउनुपर्ने भन्दै आन्दोलन गर्छन् । यहाँ सरकारी सेवामा पियुनमा जागिर खाएकाले समेत काठमाडौंमा जग्गा किनेर घर बनाएका छन् । कर्मचारीहरु जनताको सेवाभन्दा भ्रष्टाचारमा व्यस्त छन् ।
अनि जनताले कसरी पाउनु सेवा ? जनता कर तिर्दा तिर्दै वाक्कदिक्क भइसकेका छन् । जनताले प्रयोग गर्ने हरेक वस्तुमा सरकार कर लगाउँछ । करका कारण जनता सामान किनेर खान नसक्ने अवस्थामा पुगेका छन् । रोजगारी हुनेले त चर्को कर तिरेर भएपनि खालान् तर बेरोजगार के गर्ने ? उनीहरु सडकमै माग्न जानुपर्ने त होला नि होइन र सरकार ?
अहिले बाटोमा माग्नेहरु समेत नेताहरु सबै चोर दलाल हुन् भन्छन् । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमाार नेपाल सबै देश बेच्न दलाल हुन् भनेर माग्ने मान्छे समेत भन्छन् । हुन पनि त हो राजनीतिक दलका नेता र सरकारी कर्मचारीले नेपाल धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेका छन् ।
प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । नेताहरुले भ्रष्टाचार गरेर वा देश बेचेर खाइरहेका छन् । तर, बाटोमा माग्ने केही दिए खान्छन् नभए भोकै सुत्छन् । उनीहरु आफ्नो मातृभूमिलाई हानि पुग्ने कामबारे सोच्दा पनि सोच्दैनन् । अनि माग्ने मान्छे राष्ट्रभक्त हुन् कि नेता र कर्मचारी ? सर्वसाधारणले पनि अब सडकमा बस्ने हो भनेर हेला नगरौं र नेता हो भनेर गुलामी नगरौं ।
सडकमा माग्नेले मागेर खाएका छन्, उनीहरुले देशलाई त हानी पुर्याउने केही गरेका छैनन् नि । तर, नेताहरुका कारण आज नेपाल नै नरहने अवस्थामा पुगिसक्यो । विदेशी ऋणले मुलुक च्यापिएको छ । मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । यो सबै गर्ने नेता नै हुन् । तैपनि, हामी जनता नेताकै गुलामी गछौं । तपाईँ, हजुर भन्छौं । अनि देश बेच्नेको गुलामी किन ?
आफ्नो मातृभूमिको सुरक्षा गर्नेमाथि हामी हेला गछौं । किनकि ऊ गरिब छ । अनि नेता धनी र पहुँचवाला छ भन्दै उसले जस्तोसुकै नराम्रो काम गरेपनि गुलामी गर्ने । जनताले अब आफ्नो सोच परिवर्तन गर्न आवश्यक छ । नेताको गुलामी गर्ने होइन । मानिस भएर जन्मिन सजिलो छ तर असर मानव हुन निकै गाह्रो छ । पदमा पुगेर मात्र केही हुँदैन । त्यसैले, अब हामी जनता पनि मानवता जाग्नुपर्छ । सडकमा बस्ने हो भन्दैमा अवहेलना नगरौं । बरु, सक्छौं भने आफ्नो मातृभूमि बेचेर खानेलाई लखेटौं ।