Breaking News

विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय’ को शुभारम्भ गर्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।