Breaking News

विपन्न र दुर्गम कर्णालीका धनी मन्त्रीहरू

सुर्खेत । कर्णालीलाई नेपालमा गरिबी, अभाव र आर्थिक स्थिति कमजोर भएको प्रदेशको रुपमा चिनिन्छ ।

विकासका पूर्वाधार धेरै पुगिनसकेको, राजस्व कम संकलन हुने र संघीय सरकारले पनि कम बजेट दिने यो प्रदेशमा सामान्य आधारभूत आवश्यकता पूरा गर्न नसक्ने नागरिकको संख्या ठूलो छ ।

गरिबीको दर ३९.८ प्रतिशत भने मानव विकास सूचक ०.४२६ छ । तर तीनै नागरिकमाथि शासन गर्ने मुख्यमन्त्री र मन्त्रीहरू भने करोडौंका मालिक छन्, धनाढ्य छन् ।

बिहीबार सार्वजनिक कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार उनीहरूको प्रदेश र संघीय राजधानीमा घर घडेरी छ । गाडी घोडा मात्रै होइन, सुनचाँदी र हिराजस्ता बहुमूल्य धातु प्रशस्त छ ।

डोजर, ट्याक्टरदेखि उद्योगधन्दा आफ्नो नाममा रहेको सम्पत्ति विवरणमा मन्त्रीहरूले खुलाएका छन् ।

मुख्यमन्त्रीका २ घर, ४ वटा घडेरी

मुख्यमन्त्री यामलाल कँडेलसँग सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थान र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मा गरी दुई वटा घर छ । सुर्खेतको घरलाई उनले पुर्ख्यौली भनेका छन् भने काठमाडौंको घर आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिकबाट किनेको उल्लेख गरेका छन् ।

काठमाडौंको घर कँडेलकी पत्नी गीता अधिकारीको नाममा छ । कँडेलको काठमाडौंको मूलपानीमा एउटा र सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी छ । सुर्खेतको घडेरीहरू पुर्ख्यौली भएको र काठमाडौंको ८ आना जग्गा किनेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न बैङ्क तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । ललितपुर र सुर्खेतका ६ वटा सहकारीका साथै सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडमी र विभिन्न वित्तीय संस्थामा शेयर छ । कति भन्ने खुलाएका छैनन् ।
राष्ट्रिय वाणिज्य बैङ्कबाट ४५ लाख ऋण लिएका छन् भने १० तोला सुन पनि रहेको उनले बताएका छन् ।

ठेकेदार मन्त्रीको ४ घर, ७ ठाउँ जग्गा

डोल्पाका वीरबहादुर शाही प्रदेश सरकारका सबभन्दा धनी मन्त्री हुन् । ठेक्का पट्टाबाट राजनीतिमा आएका सामाजिक विकास मन्त्री शाहीले आफूसँग चार वटा घर, सात कित्ता जग्गा रहेको खुलाएका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिका–५, माझगाउँमा दुई वटा घर छ । उक्त घरहरू पुर्ख्यौली रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै सुर्खेत र नेपालगञ्जमा एक–एक वटा घर छन् । नेपालगञ्जको घर १० लाख र सुर्खेतको घर ३५ लाखमा किनेको उनले उल्लेख गरेका छन् । शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा जग्गा छ ।

सुर्खेत र बाँकेको जग्गा १ करोड ५० लाख र रुकुम पश्चिमको ६५ लाख रुपैयाँमा किनेको मन्त्री शाहीले खुलाएका छन् । मन्त्री शाहीसँग ३२ तोला सुन, ५ किलो चाँदी र १० तोला मुगा भएको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री शाहीको एनआईसी बैङ्कको खातामा ५ लाख रकम मौज्दात छ । शाहीले आफू र आफ्नो कन्स्ट्रक्सन कम्पनीका लागि साढे ८ लाख ऋण लिएको पनि खुलाएका छन् ।

शाहीसँग २ वटा डोजर, एउटा ट्याक्टर, दुई वटा मोटरसाइकल र एउटा कार छ । यी सबै ठेक्कापट्टाबाटै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् । डोजरको मूल्य २ करोड ३० लाख, ट्याक्टरको मूल्य ३० लाख उल्लेख गरेका छन् । १ करोड ५० लाख मूल्यको टोयटा हाइलक गाडी उनीसँग छ ।

स्याउ फार्म, ४० घोडा, ६० खच्चर, २०० बाख्रासमेत रहेको मन्त्री शाहीले विवरणमा उल्लेख गरेका छन् । उनले आफ्नो अधिकांश सम्पत्तिको श्रोतमा ठेक्कापट्टालाई देखाएका छन् ।

करोडपति कृषिमन्त्री : काठमाडौंमा घर, १५०० तोला चाँदी

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह पनि करोडपति हुन् । उनीसँग काठमाडौंमा घर–घडेरी छ भने गाडी, सुन, चाँदी तथा बहुमूल्य रत्न हिरा रहेको सम्पत्ति विवरणबाट खुलेको छ ।

ठाटीकाँध गाउँपालिका–१, दैलेख निवासी शाहको काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५, मा ४ आनामा बनेको दुई तले घर छ । यो घर ७५ लाख ऋण लिएर किनेको उनले बताएका छन् ।

शाह दम्पती दुवै राजनीतिमा संलग्न छन् । शाहले श्रीमतीको नाममा भक्तपुर र दैलेखका तीन ठाउँमा घडेरी किनेका छन् । लक्ष्मीदेवी शाहको नाममा भक्तपुरको सूर्य विनायक गाउँपालिका–६ मा ४८ लाख मूल्यमा किनेको घडेरी रहेको उनले बुझाएको विवरणमा उल्लेख छ ।

श्रीमतीकै नाममा दैलेखको ठाँटीकाँध गाउँपालिका–१ मा ५० रोपनी पुर्ख्यौली जग्गा छ भने दैलेखकै आठबीस नगरपालिका–४ राकममा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको विवरणमा उल्लेख छ । उनले धेरै चल सम्पत्ति छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गरेको, केही पैतृक भएको बताएका छन् । उनका छोरा अमेरिकामा बस्दै आएका छन् ।

मन्त्री शाहसँग २५ तोला सुनका गहना, ४० तोला सुन, १५ लाख बराबरको १५ क्यारेट हिराको हार, १० लाख बराबरको २ थान रुबी सेट र १५०० तोला चाँदी रहेको देखाएका छन् । हिराको हार अस्ट्रेलियामा बस्ने छोरीले उपहार दिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

पूर्वाधार मन्त्रीसँग बुलेट बाइक

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढासँग डोल्पाको काइके गाउँपालिका २ मा पुर्ख्यौली घर तथा जग्गा छ ।

मन्त्री बुढाले आफ्नो सम्पत्ति विवरणमा काइकेमा ००.९४५, ००५५०, ००.२४५, ०.०६२०, ०.००४५, ०.३२० र ०.०८० वर्ग मिटर क्षेत्रफलमा घर तथा घरको चर्चेको जग्गा रहेको उल्लेख गरेका छन् ।

उनकी श्रीमती कुमारी बुढाको नाममा डोल्पाकै ठुलो भेरी नगरपालिका–३, को दुई ठाउँमा जग्गा छ ।

बुढासँग २० तोला सुन, ६० तोला चाँदी छ । श्रीमतीको बैंक खातामा २० लाख रकम मौज्दात छ । १३ लाख मुल्य बराबरको दुई वटा बुलेट बाइक छन् । यो सबै सम्पत्ति व्यापारबाट जोडेको उनको दाबी छ । उनीसँग चार वटा घोडा, ५ गाई, १० भेडा बाख्रा छन् । उनले आफ्नो सम्पत्ति विवरणमा १० केजी काँस र २०० केजी तामा पनि उल्लेख गरेका छन् ।

अर्थमन्त्रीको घर छैन

अर्थमन्त्री महेन्द्र केसीसँग भने कँडेल मन्त्रिपरिषद्का गरिव मन्त्रीमा पर्छन् । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनको आफ्नो बस्ने घर समेत छैन । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३, निवासी केसीको गाउँमा दुई ठाउँमा (२७५२ र ८० वर्ग मिटर) जग्गा मात्रै छ ।

उनको कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ५ कट्ठा ९ धुर जग्गा छ । उनी र परिवारको नाममा रहेको बैंक खतामा ६ लाख बढी नगद छ । आफ्नो पारिश्रमिक र द्वन्द्वपीडित श्रीमतीलाई सरकारले दिने सुविधाबाट यो रकम जम्मा भउको उनले खुलाएका छन् ।

यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्री रणसिं परियारले ३० वटा बाख्रा र एउटा खुद्रा पसल रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।
हुम्ला अदानचुली–१, निवासी परियारको गाउँमा पुर्ख्यौली घर र ६० रोपनी पाखोबारी छ ।

३ तोला सुन र २० तोला चाँदी छ । मन्त्री परियारसँग ४ वटा गाई, ७ गोरु र ३० बाख्रा छन् । सबै पुर्ख्यौली भएको उनले उल्लेख गरेका छन् । उनीसँग ७० हजार नगद छ भने ३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको पनि परियारले सम्पत्ति विवरणमा खुलाएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतको कालिकोटको तिल गुफा नगरपालिका–७ मा एउटा घर छ ।

तिल गुफामै पुर्ख्यौली ७ वटा ठाउँमा जग्गा । सुन–चाँदी नभएको र बैंकमा १९ लाख ५० हजार बराबर रकम छ ।

भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकसँग पनि घर छैन ।

आठबिस नगरपालिका–१, दैलेख निवासी विकले घर, जमिन केही नभएको सम्पत्ति विवरण पेस गरेकी छन् । गाउँमा एउटा पुर्ख्यौली कच्ची घर भएपनि आफ्नो नाममा नभएकाले नराखिएको उनल बताइन् ।

उनको सम्पत्ति भनेको बैंक खातामा तलब भत्ताबाट जम्मा भएको ५ लाख, चार तोला सुन, १० तोला चाँदी छ । उनले चलाउने २० हजारको मोबाइल, हात लगाउने ५ हजारको स्मार्ट वाच र कोठामा हेर्ने ३० हजारको टिभी छ ।

उनले मन्त्रिपरिषदमा बुझाएको सम्पत्ति विवरण अनुसार बैंकको २ लाख ऋण तिर्न बाँकी नै छ ।

अनलाइनखबरबाट

यज्ञ खत्री