Breaking News

सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम

सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने र विकसित हुँदै आइरहेको इलाम जिल्लाको गहनाको रुपमा रहेको एउटा प्रमुख पर्यटकीय स्थल हो– माइपोखरी ।

हिन्दू र बुद्ध धर्मावलम्बीहरुका लागि अत्यन्तै आस्थाको केन्द्रको रुपमा मानिँदै र पुजिँदै आइएको माइपोखरी इलाम जिल्लाको सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरतिर ६,९०० फिटको उचाइमा अवस्थित छ । करिब १ किलोमिटर क्षेत्रफलमा फैलिएको माइपोखारी सन् २००८ को अक्टोबरमा विश्व सिमसार क्षेत्रको रुपमा समेत सूचीकृत भइसकेको छ ।

आफ्ना वरिपरि माइपोखरी बोटानिकल गार्डेनलाई समेटेर बसेको त्यस क्षेत्रलाई जैविक एवं वनस्पति विविधिताको क्षेत्रका रुपमा समेत लिइन्छ । विभिन्न थरिका अर्किड फूलहरु, अन्य विविध लेकाली फूल तथा चाप, धूपी, सल्ला लगायतका रुखविरुवा तथा जडीबुटीहरु पाइने माइपोखरी क्षेत्र ह्वाइट रम्प्ड गिद्ध, चितुवा–बिरालो, युरेरियन ओटर र विश्वमै दुर्लभ मानिने एकखालको छेपारो (स्थानीय नाम ठकठके) को समेत बासस्थान हो । त्यस क्षेत्रमा ३०० प्रजातिका चराहरु पनि पाइन्छन् ।