Breaking News

सुलेमानीको हत्याको बदला लिन ट्रम्पमाथि गोली प्रहार

वासिङ्टन डीसी । अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनका रिपब्लिकन दलको उम्मेदवार डोनाल्ड ट्रम्पमाथि पेन्सिल्भेनियाको बटलरमा एक चुनावी  र्‍यालीमा ज्यान मार्ने हमला भयो । सो घटनामा इरानको संलग्नताको हल्ला चलिरहेको छ । इरानका सेना जनरल कासिम सुलेमानीको हत्याको बदला लिन इरानले ट्रम्पलाई मार्न खोजेको बताइएको छ ।

सीएनएनको एउटा रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरूलाई हालैको हप्तामा इरानले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको हत्याको षडयन्त्र रचेको जानकारी आएको थियो । यो जानकारी आएपछि सिक्रेट सर्भिसले ट्रम्प आसपासको सुरक्षा पनि बढाइदिएको थियो । तर अहिलेसम्म जुलाई १३ मा ट्रम्पमाथि भएको हमला र इरानी षडयन्त्रबिच कुनै कनेक्सन भेटिएको छैन ।
सो घटनामा ८ राउन्ड गोली चलेको थियो । यसमध्ये एउटा गोलीले ट्रम्पको दाहिने कान चुस्स छोएर गयो । यस क्रममा अर्का दुई जना गम्भीर घाइते भए । हमला गर्ने व्यक्तिलाई भने सुरक्षा बलले गोली हानेर घटनास्थलमै मारिदिएका थिए । आफूमाथि लागेको यस आरोपको इरानले खण्डन गरेको छ ।

यसलाई इरानले दुर्भावनापूर्ण पनि भनेको थियो । ‘इस्लामिक रिपब्लिक अफ इरानको नजरमा डोनाल्ड ट्रम्प एक अपराधी हुन् । जसमाथि जनरल सुलेमानीको हत्याको आदेश दिएको मामिलामा उनीमाथि अदालतमा मुद्दै चलाउनु पर्छ र दण्डित पनि गरिनु पर्छ । इरानले सुलेमानीलाई न्याय दिलाउन कानुनी बाटो रोजेको छ ।’ अमेरिकामा इरानको स्थायी मिसनका एक प्रवक्ताले भनेको भन्दै सीएनएनले समाचार छापेको थियो । ट्रम्पलाई मार्ने इरानी षडयन्त्रबारे अमेरिकी एजेन्सीले गुप्त जानकारी पनि पाएको थियो ।

ट्रम्पलाई इरानले निशाना बनाउन सक्छ

पेन्सिभेनियामा र्‍याली अघि नै सेक्रेट सर्भिस र ट्रम्पका चुनावी अभियान टोलीलाई सम्भावित खतराबारे अवगत गराइएको अमेरिकाको एक जना राष्ट्रिय सुरक्षा अधिकारीले भनेका छन् । यसैले सेक्रेट सर्भिसले पनि ट्रम्पको सुरक्षा व्यवस्था कसिलो पारिदिएको थियो । यी सबै उनीमाथि ज्यान मार्ने हमला हुनु अघि भएको उनले बताए । सन् २०२० को जनवरीमा सुलेमानीलाई मार्ने आदेश दिएकोमा इरानले ट्रम्पमाथि जवाफी कारबाही गर्न सक्छ भनेर अमेरिकी सुरक्षा अधिकारीहरूले बेला बेलामा अलर्ट जारी गर्ने गरेका छन् ।

सेक्रेट सर्भिसका अधिकारीहरूले ट्रम्पलाई खुल्लामा र्‍याली नगर्न बारम्बार सतर्क पनि गराएका थिए । यसैबिच पेन्सिल्भिेनियाको र्‍यालीमा ट्रम्पको सुरक्षामा चूक भएको मामिलामा सेक्रेट सर्भिसमाथि प्रश्न उठिरहेको छ । २० वर्षीय केटो ट्रम्पमाथि गोली चलाउन र्‍याली भएको ठाउँ नजिकको भवनको छतमा कसरी पुग्थ्यो भनेर पनि आलोचना भइरहेको छ ।

को थिए कासिम सुलेमानी ?

मेजर जनरल कासिम सुलेमानी इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्स (आईआरजीसीको पाँच शाखामध्ये एक कुद्स फोर्सका कमान्डर थिए । अमेरिका र यूरोपेली संघ दुवैले कुद्स फोर्सलाई आतंकवादी संगठन घोषित गरेका थिए । सुनेमानीलाई इरानका सर्वोच्च नेता अयातुल्ला खामेनेई पछि देशको दोस्रो शक्तिशाली व्यक्तिको रूपमा हेरिन्थ्यो ।

सन् २०२० को जनवरी ३ मा इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर गरिएको ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको थियो । सो घटनामा सुलेमानीको ज्वाई र रिभोलुशनरी गार्डका पाँच सदस्यको पनि मृत्यु भएको थियो ।

अमेरिकाले किन मारेको थियो सुलेमानीलाई ?

सुलेमानीलाई मार्ने अनुमति तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले दिएका थिए । अमेरिकी रक्षा मन्त्रालयले आक्रमणको जिम्मा लिँदै राष्ट्रपतिको निर्देशनमा सो आक्रमण गरेको बताएको थियो । अमेरिकी राजनीतिज्ञ र सेनाकर्मीमाथि भयावह हमलाको षडयन्त्र रहेको आरोप ट्रम्पले सुलेमानीमाथि लगाएका थिए ।

एजेन्सी