Breaking News

मन्त्री बन्ने रहरमा बालकोटमा १० भाइको कन्तबिजोग

काठमाडौं । शुरुमा उफार्ने, अन्तिममा थेचार्ने र लोपार्ने– दश बुँदे गरेरै एमालेमै बसेका केही नेतामाथि केपी शर्मा ओलीले फेरि यस्तै व्यवहार देखाए । हिजो सोमबार गठन भएको २२ सदस्यीय मन्त्रीमण्डलमा सञ्चार मन्त्री हुनका लागि योगेश भट्टराईले आइतबार राति नै तयार पारेको दौरा सुरुवाल विहान उठ्दा काम नलाग्ने भइसकेको थियो ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको दबाबमा उनलाई सञ्चारमन्त्री बनाउने कुरामा ओली सकारात्मक भइसकेका थिए । त्यही कुराको संकेत गर्न २७ गते प्रचण्डले विश्वासको मत मागेपछि एमालेको तर्फबाट मन्तव्यको जिम्मेवारी पनि उनैलाई
दिइयो । यसपछि मन्त्री हुन्नँ भन्ने कुरा मनबाट हटाएर साथीभाइको बधाईसमेत खाइसकेका थिए ।

आइतबार रातिसम्म पनि उनको नाम मन्त्रीमा पनि सञ्चारमै थियो । सोमबार बिहान ‘कहाँ जम्मा हुनुपर्ने हो’ भन्दै योगेशले बालकोटमा सोधखोज गर्न थाले । अध्यक्षको बालकोटस्थित घरमा कसैलाई फोन गरेर सोधे ।

जवाफ पाए, ‘तपाईं अहिले त्यतै बस्नुस्, खबर आयो भने भनौंला ।’ यसपछि उनी निराश भए । कुरा बुझ्दै जाँदा राति नै विष्णु रिमाल, भानुभक्त ढकाल, सूर्य थापाहरुको टोलीले बालकोटमा घेरा हालेर भन्यो, ‘हामी र योगेशमध्ये एउटा रोज्नुस्, हिजो धोका दिएर हिँडेको बिर्सिनुभयो ?’ ओलीले ‘अहिले केटो सुध्रिएको छ’ भन्दै उनलाई बचाउन खोज्दै थिए । सूर्य थापाले प्वाक्क भने, ‘भोलि धोका दिएपछि सुध्रियो कि सुध्रिएन भन्ने थाहा पाइहाल्नुहुन्छ, अहिले खुरुक्क त्यसको नाम काट्नुस् ।’

त्यसपछि ओलीले योगेशको नाम काटे । त्यसपछि त्यही टोलीले मन्त्रीको रहर नगरेका पृथ्वीसुब्बा गुरुङलाई नै अगाडि सार्ने काम ग¥यो । छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने सूचीमा थिए । प्रधानमन्त्रीबाहेक क्याबिनेटमा एउटा पनि झापाली नहुने भएपछि छविलालको नाम काटेर देवेन्द्र दाहालको थपियो । जनजातिबाट कृष्णगोपालको सट्टामा मानवीर राईलाई राखियो ।

एउटा दश बुँदेलाई यसरी उफारेर, थेचारेर अन्तिममा लोपारेको चर्चा त सोमबार दिनभरि बालकोटमा चलिरह्यो । अर्का दश बुँदेले पनि नराम्रोसँग मार खाए । मन्त्री बन्नका लागि दुई–तीन दिनदेखि बूढानीलकण्ठको भंगालदेखि बालकोटसम्म ओहोर–दोहोर गरेका गोकर्ण विष्ट अन्तिममा थेचारिएका हुन् । भंगालस्थित पूर्वराष्ट्रपति विद्या भण्डारीको निवासमा उनलाई मन्त्री बनाइदिनका लागि सुरेन्द्र पाण्डेसहितका नेताहरुको दबाब थियो । त्यहाँबाट बालकोटमा फोन गराइयो । यसपछि आफैं अध्यक्ष ओलीलाई भेट्न पुगे । शुक्रबार र शनिबार धेरैबेर पर्खिंदा पनि भेट्ने समय पाएनन् ।

उनलाई बालकोटमा देख्ने कार्यकर्ताहरु भन्दै थिए, ‘एउटा क्याबिनेटमा दुई–दुई जना दश बुँदे ?’ आइतबार बेलुकी गोकर्ण बालकोट आसपासमै भएको बेला गुल्मीका पार्टी अध्यक्ष बालसिंह काउछासहितको टोली पुग्यो । गोकर्ण त्यही टोलीमा पुगेर ओलीसँग भेट्न दौडिरहेका थिए ।

उनलाई मन्त्री बनाउनु हुँदैन भन्न गएको टोलीले उनैलाई साथमा लैजाने कुरा भएन । गोकर्णले फोन गरेर सँगै बालकोट जाऔं भनेपछि फोन उठाउने टोलीका एक सहभागीले भने, ‘हामी लोकन्थलीमा छौं, हिँड्ने बेलामा खबर गर्छौं, हजुर बाटोमा पर्खिरहनुहोला ।’ तर, त्यतिबेलासम्म उक्त टोली बालकोटस्थित ओली निवासको कम्पाउण्डमा पुगिसकेको
थियो ।

उक्त टोलीले ओलीसँगको भेटका क्रममा गोकर्णको बारेमा कुरा निकाल्न खोज्यो । ओलीले ‘यस्तो कुरै नगर्नुस्’ भनेर अरु कुरा सुन्नै चाहेनन् ।

त्यहाँबाट उनीहरु निस्किएपछि गोकर्णलाई यही कुरा सुनाए । मन्त्री बन्ने प्रयासमा रहेका अर्का दश बुँदे थिए, भीम
आचार्य । कौशलटारमा बस्ने उनले केही दिनदेखि मर्निङवाक गर्ने रुट नै फेरेर बालकोटतिर बनाएका थिए । अघिपछि सानो ठिमी, मगर गाउँ हुँदै मनहरा टाउन प्लानिङतिर दौडिने उनले मन्त्री बन्ने भाउँतोमा कौशलटारबाट बालकोट हुँदै विरुवा, टीकाथलीतिरको रुट बनाए । तर, ओलीसँग एकपटक पनि एक्लै भेट्न पाएनन् ।

बिहान जाँदा मान्छेको भीड लागिसकेको हुने । भीडकै बीचमा नमस्ते गर्दै फर्किए । मन्त्री बन्न मन छ भन्ने कुरा मुखबाट निकाल्न पनि पाएनन् । उनलाई मन्त्री बनाइदिए हुन्थ्यो भनेर विराटनगरबाट विनोद ढकालसम्म आए । तर, मन्त्री
भएनन् । माधव नेपाललाई विश्वासघात गरेर बालकोटको जालोमा परेका १० भाइको हविगत आगामी निर्वाचनसम्म के हुने हो उनीहरुलाई नै थाहा छैन ।

दृष्टिबाट