कर्णालीमा थप ५९ जनामा कोरोना संक्रमण भएको पृष्टि

१८ जेठ, सुर्खेत । कर्णाली प्रदेशको सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा सल्यानका २६, कालिकोटका १७ जना, दैलेखका १५ र सर्खेतका १ जना गरी ५९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमितहरु चार वर्षीया बालिकादेखि ६० वर्षीया जेष्ठनागरिक समेत रहेको जनस्वास्थ्य प्रमुख कँडेलले बताए ।

कर्णालीका दश जिल्लामध्ये कालिकोट र सल्यानमा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । अहिलेसम्म कर्णालीका चार जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमित सबै भारतबाट आएका हुन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय पाँच पुगेको छ ।