Breaking News

नारायणगढ-मुग्लिङ सडक खण्डको सिमतालमा लेदोसहितको पहिरोले २ यात्रुवाहक बस बगाउँदा ६५ यात्रु बेपत्ता खोजीकार्य जारी

चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ ।

घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन् । उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।

उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर मगाइएको छ।

अहिले घटनास्थलमा उद्धार कार्य सुरु गर्न सक्ने अवस्था छैन । सडकको माथिबाट आएको लेदो सहितको पहिराले बसलाई त्रिशूलीमा मिसाएको हो । लेदो सहितको पहिरो भएकाले काम गर्न कठिन भइरहेको छ । बसका यात्रुहरूको अवस्था अज्ञात छ । उद्धार कार्यका लागि गोताखोर बोलाइएको छ । गोताखोरह पनि पहिरोका कारण अड्किएका छन् ।

काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् ।