Breaking News

काँग्रेसको हातमा सत्ता, प्रचण्डलाई सकाउन खोज्दा ओली आफैं पंगु बन्दै

नेपाल सरकारले पहिलो पटक २०७४ सालमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन गराएको थियो । सो वर्षको मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन गराउने सरकारको घोषणा थियो । चुनाव घोषणासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरे । जनतामाझ भोट सँगै गए ।

दुवै पार्टीले चुनावपछि एकीकरण हुने वा एउटै पार्टी हुने बताएका थिए । र, जनताले विश्वास गरी उनीहरुलाई बहुमत
दिए । चुनावमा बहुमत आएपछि एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कसले प्रधानमन्त्री वा पार्टीको अध्यक्ष खाने भन्नेमा विवाद शुरु भयो ।

चुनाव सकिएको लामो समयसम्म पनि कोही प्रधानमन्त्री भएन । अनि विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा मार्सी चामलको खाना खाएपछि ओली र प्रचण्डबीच केही सहमति भएको थियो । जसमा पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली र प्रचण्डले ३०–३० महिना खाने सहमति भयो ।

पहिलो चोटी प्रधानमन्त्री ओली हुने र पहिलो चोटी पार्टी अध्यक्ष प्रचण्डलाई बनाउने लिखित सहमति भएको थियो । ओली र प्रचण्डले सहमति पत्रमा हस्ताक्षर नै गरेका थिए । र, यस साक्षी दुर्गा प्रसाई बने । सहमतिपश्चात् ०७४ फागुल्न ३ गते ओली प्रधानमन्त्री भए । सम्झौताअनुसार ओली प्रधानमन्त्री भएपछि पार्टीको अध्यक्ष प्रचण्डले पाउनुपथ्र्यो ।

प्रचण्डले विश्वास गरेर ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए । तर, ओलीले उनलाई पार्टी अध्यक्ष दिएनन् । आफैंले पार्टी पनि चलाए । प्रचण्डलाई पार्टीको कुनै पनि निर्णय वा बैठक राख्नै दिएनन् । तैपनि प्रचण्ड ओलीको पछिपछि लागे । उनमा आश थियो ओलीले आफुलाई पार्टी अध्यक्ष दिन्छन् ।

यद्यपि, ३० महिनासम्म ओलीले उनलाई पार्टी अध्यक्ष दिएनन् । र, आफु प्रधानमन्त्री बनिरहे । ओली प्रधानमन्त्री भएको ३२ महिना पुगेपछि प्रचण्डले सार्वजनिक कार्यक्रममा ओली र आफुबीच आधा–आधा समय प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने सहमति भएको भन्दै अब आफुले प्रधानमन्त्री पाउनुपर्ने बोल्न थाले ।

अनि ओलीले प्रचण्डसँग कुनै पनि सहमति नै नभएको बताउन थाले । उनले पाँचै वर्ष आफुले प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने भन्दै ओठे जवाफ फर्काए । त्यसपश्चात् ओलीले आफ्ना कार्यकर्तालाई बालुवाटारमा बोलाएर आफ्नै पार्टीका मान्छे वा विपक्षले सरकारको विरोध गरेमा कालो अरिगांलजसरी टोक्नु भनेर निर्देशन दिए ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर ओलीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति वा निर्देशन दिएका थिए । मुलुकमा कोरोना फैलियो भन्दै ओलीले दुई पटक लकडाउन समेत गरे । ०७६ चैत ११ गते र ०७८ वैशाख १६ गते दुई पटक उनले लकडाउनको घोषणा गरेका थिए ।

देशमा लकडाउन गरेर उनी जनताले तिरेको करमा बालुवाटारमा मोजमस्ती गरेर बसे । लकडाउनपछि खाना नपाएर सर्वसाधारण महिनौं दिन पैदल हिँडेर आफ्नो जन्मथलो फर्किए । उनीहरुको खुट्टा सुन्निएर हेरिसक्नु थिएन । यता, कतिपयले खाना नपाएर आत्महत्या समेत गरे । कोठामा बस्नेहरुले राहत पाएनन् ।

खान नपाएपछि जनता विभिन्न संघसंस्था वा व्यक्तिले बाँडिरहेको खाना खान टुँडिखेल वा सडकमा लाइन लागे । कतिपयलाई घरबेटीले भाडा तिर्न नसकेपछि कोठाबाटै निकालदिए । र, उनीहरुको सडकबास भयो । जनताले कर तिरेका थिए । तर, बहालवालामा बस्नेलाई ओली सरकारले राहत दिएन ।

त्यतिबेला सर्वसाधारणको दुःख, पीडा सञ्चारकर्मीहरुले बाहिर ल्याइदिँदा ओली सञ्चार माध्यमप्रति नै खनिए । अनि बालुवाटारमा बसेर ओली कहिले बाँसुरी बजाउँन्थे त कहिले जनताले तिरेको करमा भोज राख्थे । यता, आफ्नो जन्मभूमिमा देशको नक्सालाई नै केक बनाएर उनले काटेर खाए ।

ओलीकै आडमा महेश बस्नेत र सर्वेन्द्र खनालले मिलेर सांसदको घरमै पुगेर अपहरण गरी होटलमा थुन्ने समेत गरे । ठेक्कापट्टा पनि सबै एमालेकै कार्यकर्तालाई दिइयो । राजदूत वा कर्मचारीको ठुलो पदमा पनि आफ्नै कार्यकर्तालाई ओलीले नियुक्त गर्थे । जनताले तिरेको कर जति सबै महेश बस्नेतको क्षेत्र भक्तपुर र ओलीको क्षेत्र झापामा हालियो ।
माओवादीबाट जुम्लाबाट चुनाव जितेर आएका तत्कालिन सांसद गजेन्द्र महत ओलीले आफ्नो क्षेत्रमा बजेट नदिएको भन्दै रोए समेत । ओली सरकारमा जनताबाट चुनिएर आएका सांसदलाई मन्त्री दिइएन । आफ्नो नजिकको कार्यकर्ता वा पूर्वगर्भनर डा.युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो ।

खतिवडाको न देशमा राजनीतिक परिवर्तनको क्रममा योगदान थियो न त उनलाई जनताले पत्याएका थिए । ओलीले पटक–पटक विष्णु पौडेललाई मन्त्री बनाए । र, अन्य सांसदले अवसर नै पाएनन् । ०७१ सालमा ओली र माधवकुमार नेपाल एकै पार्टीको अध्यक्षमा लडेका थिए । तर, नेपालले थोरै भोटले चुनाव हारे । उनलाई भित्तामै पुर्याउन खोजे,
ओलीले । नेपाललाई पार्टीमा टिक्नै दिएनन् । उनको पार्टीबाट चुनाव जितेर आएका सांसदलाई ओलीले आफु प्रधानमन्त्री हुँदा एउटै पनि मन्त्री दिएनन् । ०७० सालको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ का जनताले महेश बस्नेतलाई चुनाव हराए ।
चुनाव हारेको व्यक्तिलाई ओलीले सुशिल कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनाए । बस्नेतले मन्त्री हुँदा अकुँत सम्पत्ति जोडेको थाहा पाएपछि भक्तपुरका जनताले फेरि उनलाई ०७९ मंसिर ४ गतेको निर्वाचनमा हराए । उता, ओली प्रधानमन्त्री हुँदा उनको दादागिरी बढ्दै गएको थियो ।

उनी पार्टीको बैठकदेखि मन्त्रिपरिषद् बैठकसम्म बालुवाटारमा राख्थे । प्रधानमन्त्री हुँदा पटक–पटक बिरामी भए । जनताले तिरेको करोडौं कर उनको उपचारमा सकियो । ओलीले काम गर्न नसकेको चौतर्फी विरोधपछि पार्टीमा पनि माधव नेपाल र प्रचण्डले बोल्न शुरु गरे । उनीहरुसहित झलनाथ खनाल, वामदेव गौतमले ओलीलाई भने, तपाईँ दुईटा पदमा एउटा पद छोड्नुस् । कि प्रधानमन्त्री छोड्नुस् कि पार्टी अध्यक्ष । तर, ओली कुनै पनि पद छोड्न तयार भएनन् । त्यसपछि पार्टीमा झगडा शुरु भयो । पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हट्नुपर्ने अवस्था निम्तिएपछि ओलीले ०७७ पुस ५ गते र ०७८ जेठ ८ गते दुई पटक संसद विघटन गरिदिए ।

यद्यपि, दुवै पटक सर्वोच्च अदालतले संसद विघटन उल्टाइदियो । ०७८ असार २९ गतेभित्र ओली नेतृत्वको सरकार हटाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले आदेश दियो । अनि ओली बालुवाटारबाट रुँदै निस्किए ।

ओलीलाई महेश बस्नेत र कार्यकर्ताले घेरेका थिए । बालकोटमा पुगेपछि ओलीले माधव नेपाललाई गद्दार भने । अनि सार्वजनिक कार्यक्रममा उनले भन्न शुरु गरे, ‘केही महिनापछि चुनाव हुन्छ । जनताले एमालेलाई बहुमत दिन्छन् । र, बालुवाटार र सिंहदरबारमा फेरि फेरि प्रधानमन्त्री भएर मै आउँछु ।’ ०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो ।

कांग्रेस ८९ सिटसहित पहिलो पार्टी बन्यो । एमालेले ७८ सिट जित्यो । माओवादी ३२, रास्वपा २१, राप्रपा १४, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १ र नेमकिपाले १ सिट जित्यो । ०७९ सालको निर्वाचनमा एमालेलाई जनताले नपत्याएपछि ओलीको बालुवाटार र सिंहदरबार छिर्ने सपना चक्नाचुर भयो ।
अनि उनले शुरु गरे प्रचण्डलाई उचालन । प्रचण्डले कांग्रेससहित विभिन्न दलसँग गठबन्धन गरेर ०७९ सालको निर्वाचन लडेका थिए । चुनावपछि कांग्रेसले आफु ठुलो पार्टी रहेकोले पहिलो पटक आफु र दोस्रो पटक तपाई प्रधनमन्त्री खानुस् भनेर प्रचण्डलाई भनिरहेको थियो । तर, प्रचण्ड यसमा सहमत भएनन् ।

उनी बालुवाटारको मिटिङ्ग छोडेर एकैपटक बालकोट पुगे । प्रचण्डकै कारण एमालेले सभामुख पायो । अहिले ओलीले आफु प्रधानमन्त्री बनन प्रचण्ड नेतृत्वको सरकार ढालिदिए । अहिले सर्वसाधारण भन्छन्, ‘कांग्रेसले अहिले ओलीलाई प्रधानमन्त्री बनाए प्रचण्डलाई दिएजस्तो धोका दिन्छन् ।’

अहिले कांग्रेसको हातमा सत्ता छ । अब कांग्रेसले शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाई ओलीलाई प्रधानमन्त्री ०८४ सालको निर्वाचनमा कांग्रेस पनि सकिनेछ । कांग्रेसलाई जनताले पहिलो पार्टी बनाएका छन् । त्यसैले, अब कांग्रेसले साना दलसँग मिलेर सरकार गठन गर्नुपर्छ ।

कांग्रेस एमालेसँग सम्झौता गरिसक्यौ भनेर बस्ने होइन । देश र जनताको हितका लागि कांग्रेसले निर्णय गर्नुपर्छ । अब कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर बजारमा बहस समेत शुरु भइसकेको छ । त्यसैले, यो वर्ष ओलीको प्रधानमन्त्री बन्ने सपना चक्नापुर हुनेछ । ओलीले प्रचण्डलाई सक्काउन खोजे, तर कांग्रेसले साना दलसँग मिलेर सरकार गठन गरेपश्चात् एमाले आफैं सकिनेछ ।

रुषा थापा