Breaking News

माइक्रोसफ्टले चीनमा रहेका आफ्ना कर्मचारीहरूलाई आइफोन प्रयोग गर्न निर्देशन

माइक्रोसफ्टले चीनमा रहेका आफ्ना कर्मचारीहरूलाई आइफोन प्रयोग गर्न निर्देशन दिएको छ।

अमेरिकी बहुराष्ट्रिय कर्पोरेसन एवम् प्रविधि कम्पनी माइक्रोसफ्टले साइबर सुरक्षाको एक उपाय बताउँदै सबै कर्मचारीलाई अनिवार्य एप्पलको उपकरण प्रयोग गर्न निर्देशन दिएको हो। यसलाई कम्पनीले आफ्नो ‘ग्लोबल सेक्योर फ्युचर इनिसिएसन’को एक हिस्सा समेत बताएको छ।

कर्मचारीहरूले आगामी सेप्टेम्बरबाट काममा आफ्नो आइडी भेरिफिकेसन (पहिचान प्रमाणित)को लागि एप्पलको उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। कुनै पनि एन्ड्रोइड स्मार्टफोन वा अन्य उपकरण चलाउन निषेध गरिएको छ।

माइक्रोसफ्टले एन्ड्रोइड उपकरणहरूमा आफ्नो कर्पोरेट प्लेटफर्म पहुँचबाटै रोक लगाउने जनाएको छ।

चीनमा कुनै पनि गुगल मोबाइल सेवाहरू उपलब्ध छैन। यहाँ गुगल प्ले चल्दैन। यसकारण आवश्यक एप लगायत सेवा उपलब्ध गराउन आइओएस (एप्पलले प्रयोग गर्ने अपरेटिङ सिस्टम) आवश्यक रहेको माइक्रोसफ्टले जनाएको छ।

माइक्रोसफ्टले हाल एन्ड्रोइड फोन प्रयोग गरिरहेका कर्मचारीहरूलाई आइफोन १५ उपलब्ध गराउने बताएको छ। कम्पनीका अनुसार एप्पलका हरेक उपकरणहरू चीनसँगै हङकङमा पनि सहज उपलब्ध हुनेछ।

एजेन्सी