Breaking News

पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

अस्तिबाट आएकोे लगातार बर्षाका कारण नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज) का सबै ढोका खोलिएका हुन्।

गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो।

आज बिहान ७ बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार ७५० क्युविक सेन्टिमिटर (क्युसेक) रहेको छ।

शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा रहेको छ ।

गण्डक ब्यारेजमा बाँध लगाएर भारतले सिँचाइका लागि नहरमार्फत बिहार र उत्तर प्रदेशमा पानी लगेको छ।

गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।