काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । २०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उनकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए ।
तेह्र वर्षको उमेरदेखि नै वामपन्थी राजनीतिमा लागेका नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०१९ सालमा भएको तेस्रो महाधिवेशनपछि नेकपा छिन्नभिन्न भएपछि कम्युनिस्ट घटकहरूलाई एकतामा ल्याउन प्रयास गरेका थिए । यसै सिलसिलामा उनी २०३२ मा को–अर्डिनेसन केन्द्रका संस्थापक सदस्य भए । २०३५ सालमा नेकपा (माले) का संस्थापक सदस्यको साथसाथै नेपाल पोलिटब्यूरो सदस्य भए । २०३३ मा राजनीतिक अभियोग राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष जेल परेका थिए । २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका नेपाल संयुक्त वाम मोर्चाका सदस्य थिए । २०४७ मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य थिए । २०४८ सालमा एमालेका पोलिटब्यूरो सदस्य भए । २०४८ को आम निर्वाचनपछि उनी राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता भए ।
२०४९ सालमा एमालेको पाँचौँ महाधिवेशनमा उनी स्थायी समिति भएका थिए । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएपछि उनी कार्यबहाक महासचिव भए । नेपाल एमालेलेमा लामो समय विदेश मामिला विभागका प्रमुख भएका थिए ।
नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थिए । २०५४ सालमा भएको छैटौं महाधिवेशनमा महासचिव निर्वाचित भए । झण्डै १४ वर्ष महासचिव भएका उनी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौँ र रौतहट दुवै क्षेत्रबाट पराजित भएपछि राजीनामा दिएका थिए । यसबिचमा उनी प्रतिनिधिसभामा पटक पटक प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका खेले । पहिलो संविधानसभाको निर्वाचनपछि उनी संवैधानिक समितिका सभापति हुँदै समानुपातिक सांसद भए ।
२०६६ साल वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि प्रधानमन्त्री बन्ने अवसर नेपाललाई जुरेको थियो । २०६५ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट अध्यक्षात्मक बहुदलीय प्रणालीमा गएपछि अध्यक्ष बन्ने आकांक्षा देखाएका थिए । २०७१ सालमा काठमाडौँमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएका उनी थोरै मतले पराजित भए । उनी २०५१ देखि ०७९ सम्म भएको निर्वाचनमध्ये २०६४ मा पराजित भएका थिए । २०७५ जेठ ३ गते एमाले र माओवादी मिलेर बनेको नेकपामा उनी ओली, प्रचण्डपछि तेस्रो तहका नेता भएका थिए । तर तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले २०७७ साल पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्डसँग मिलेर उनले सडक संघर्षमा उत्रिएका थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरेपश्चात् साबिक एमालेमै रहेका उनी ओलीसँग संघर्ष गरिरहे । तर ओलीसँग विवाद नसुल्झेपछि एमालेसँग विद्रोह गरेका थिए ।
रातोपाटीबाट