Breaking News

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको हो ।

‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, एक नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’

यसअघि नेता घनश्याम भुसालले अध्यक्षमा दावेदारी गर्दै आएका थिए । तर छलफलका क्रममा उनले सहमतिमा आउने संकेत गरेसँगै नेपाल अध्यक्षमा सुरक्षित भएका हुन् । भुसाललाई महासचिव वा वरिष्ठ उपाध्यक्षमध्ये एक पदमा सुनिश्चित गर्ने तयारी भइरहेको एक नेताले बताए ।

ती नेताका अनुसार हाल २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्थामा थप सय जना केन्द्रीय सदस्य थपेर भए पनि सहमतिमै नयाँ केन्द्रीय कमिटी चयन गर्ने तयारी भइरहेको छ ।

यदि त्यसमा सहमति नजुटे पदाधिकारी बाहेकमा निर्वाचन गर्ने र महाधिवेशन सक्ने तयारी समेत भइरहेको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा चौथो दिन विभिन्न प्रतिवेदनहरू पारित भइसकेका छन् ।