Breaking News

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ

१४ असार, काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गर्‍यो ।

बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।

भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यसमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा बिचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै किर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।

यसका लागि मोरङका केशव दुलाल र सानु भण्डारीले सेटिङ मिलाएका थिए । पक्राउ पुर्जी जारी भएपछि प्रतीकले विज्ञप्ति जारी गर्दै ‘संवेदनशील विषय भएकाले छानबिनमा सहयोग गर्ने’ बताएका थिए । तर, अहिलेसम्म उनी फरार
थिए ।