१३ असार, काठमाडौं । हिंसात्मक प्रदर्शनपछि केन्या सरकारले कर वृद्धिको व्यवस्थासहितको विधेयक फिर्ता लिएको
छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गर्दै भने, ‘म यसबाट पछि हटेको
छु ।’
विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो । संसदले कर वृद्धिको व्यवस्थासहितको विधेयक पास गरेलगत्तै प्रदर्शनकारीले संसदमा आगजनी गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा गत मंगलबार २२ जनाको मृत्यु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो । प्रदर्शनकारीले राष्ट्रपतिको समेत राजीनामा मागेका थिए । प्रदर्शन नरोकिने छाँट देखेपछि राष्ट्रपति रुतोले विधेयक फिर्ता लिएको घोषणा गरेका हुन् ।
राष्ट्रपति रुतोले सन् २०२२ पछि सबैभन्दा ठूलो प्रदर्शनको अगुवाइ गरेका युवाहरुसँग अब वार्ता गर्ने पनि बताएका छन् ।