Breaking News

रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता

प्योङयाङ । रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ । रुसको सरकारी सञ्चारमाध्यमले उत्तर कोरिया भ्रमणमा रहेका पुटिनलाई उद्धृत गर्दै सम्झौताबारे समाचार लेखेका छन् । सम्झौतामा एक अर्कामाथि हमला भएमा दुवै देशले एक अर्कालाई सहयोग उपलब्ध गराउने सहमति गरिएको छ ।

रुसी सरकारी समाचार एजेन्सीले पुटिनलाई उद्धृत गर्दै यो सम्झौतालाई ‘ऐतिहासिक दस्ताबेज’ भनेको छ । ‘आज हस्ताक्षर गरिएको विस्तृत साझेदारी सम्झौतामा अन्य कुराहरूका साथै आक्रमण वा युद्धको अवस्थामा एक अर्कालाई पारस्परिक सहयोग समावेश छ ।’ समाचारमा पुटिनको भनाई उद्धृत गरिएको छ । यो रक्षा सम्झौताको असर रुस र युक्रेनमा पनि देखिने विश्वास गरिएको छ ।

यी दुई नेताको भेट ‘बाँकी विश्वका लागि नराम्रो खबर हो ।’ भनेर अमेरिकी गुप्तचर एजेन्सी सीआईएका पूर्व विश्लेषक सु मी टेरीले बीबीसीलाई भनेका छन् । उत्तर कोरियाको भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भव्य स्वागत गरिएको थियो । यहाँबाट पुटिनको भियतनाम जाँदै छन् । सैन्य सहयोग सम्झौतामाथि दक्षिण कोरियाले रुसलाई ‘लक्ष्मण रेखा’ पार नगर्न चेतावनी दिएको थियो । सम्झौतामा हस्ताक्षरपछि उत्तर कोरियाली नेता किमले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचाहट’ जवाफ दिने बताएका थिए ।

उत्तर कोरिया र रुसबिचको सम्बन्ध अब सहयोगको नयाँ तहमा उक्लिएको र यसले ‘बहुध्रुवीय विश्व’ निर्माणको प्रक्रियालाई गति दिने किमको भनाइ छ ।

यस्ता छन् सम्झौताका मुख्य कुराहरू:

१. अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर कोरियामाथि लगाएको अन्तहीन नाकाबन्दीलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदमा पुनरावलोकन गर्नुपर्नेछ ।

२. आक्रमणको अवस्थामा आपसी सहयोगका लागि दुई देशबिच विस्तृत साझेदारी सम्झौता भएको छ ।

३. रुसी भूमिमा आक्रमण गर्न युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र, एफ–१६ लडाकु विमान र अन्य अत्याधुनिक हतियार र उपकरण उपलब्ध गराउनेबारे अमेरिका र नाटो देशले दिएका बयानलाई पनि ध्यानमा राखिएको छ ।

४. सम्झौता अन्तर्गत रुसले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोगको विकासलाई अस्वीकार गरेको छैन ।

एजेन्सी