सरकारले ल्याएको नक्सा अनुसार निशान छाप बनाउने संविधान संशोधन विधेयकको पक्षमा उभिन कठिन हुने

महन्थ ठाकुर

१६ जेठ, काठमारडौ । राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले जनताले अधिकार नपाएका बेला राष्ट्रिय एकताको कल्पना नगर्न भनेका छन् ।

गैर सरकारी विधेयकको रुपमा आफ्ना मागहरु समेटेर संविधान संशोधन गर्न ठाकुर सहितका राजपाका नेताहरु शुक्रबार संघीय संसद सचिवालय गएका थिए । तर सचिवालयमा उनीहरुको विधेयक दर्ता भएन ।

विधेयक दर्ता नभएपछि संसद सचिवालयबाट बाहिरिने क्रममा प्रतिक्रिया दिदैँ ठाकुरले भने, ’यदि देशको एक भागको जनता आक्रोशित छ । उसले आफ्नो अधिकारको माग गरेको छ त्यसलाई सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस् ।

ठाकुर सहित राजपाका नेताहरु नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका मुद्दा बोकेर संविधान संशोधन दर्ता गर्न संसद सचिवालय पुगेका थिए । तर सचिवालयले संशोधन प्रस्ताव दर्ता गरेको छैन ।

सरकारले गत साता नेपालको नयाँ नक्सा अनुरुपको निशान छाप बनाउन संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो । लगत्तै प्रधानमन्त्रीले आव्हान गरेको सर्वदलीय बैठकमा समेत ठाकुरले आफूहरुले विगत देखि उठाउँदै आएको संविधान संशोधनको विषयलाई समेत एकसाथ समेट्न माग गरेका थिए ।

ठाकुरले सरकारले ल्याएको संविधान संशोधन दर्ता भएकाले आफूहरुले पनि गैरसकारी विधेयक ल्याएको बताए ।

’कांग्रेस र माओवादी सरकार भएका बेला मधेशका लागि संविधान संशोधन गर्ने गरि जुन संशोधन आएको थियो । त्यसबेला एमालेले भोट नदिदाँ अगाडि बढेन । त्यसलाई पुन दर्ता गराउन आएको हो’, ठाकुरले प्रश्न गरे, ’सरकारको संविधान संशोधनको दर्ता हुने ? हामी पनि संविधानसँग सम्बन्धित पक्ष हो । हामीले आवाज पनि उठायौँ । भन्यौँ पनि । हाम्रो पनि समस्या समाधानको अवसर हो ।

पत्रकारले बाबुराम भट्टराई र उपेन्द्र यादवहरु सहभागि नभएको विषयमा सोधेको प्रश्नमा उनले घुमाउरो पाराले पार्टीमा समस्या रहेको स्वीकारे ।

’समस्या मुखले त होइन भनेपनि कामले तपाँई हामीले देख्यौँ’, ठाकुरले भने, ’उहाँहरु बाबुराम भट्टराई र उपेन्द्र यादवले सपोर्ट गर्छौँ । दर्ता गराउनुहोस् भन्नुभयो ।

हामीले सर्वदलीय बैठकमा पनि भनिसकेको छौँ । हाम्रो भावना पनि संविधान संशोधनसँग जोडिएको छ । यसलाई सम्बोधन गरेर संशोधन मार्फत् हामीहरुको जे समस्या छ त्यसलाई समाधान गर्नुहोस् यदि भएन भने जनता आक्रोशित हुन्छ, मधेश आक्रोशित हुन्छ । हाम्रो भनाई थियो ।

ठाकुरले बारम्बार सरकारले आफूहरुको माग सम्बोधन गर्छौं मात्र भन्ने गरेको बताए । ’बारबार भन्नुहुन्छ संवादबाट समस्या समाधान गर्छौं तर यस्तो अवस्थामा संवाद पनि कठिन हुन्छ’, ठाकुरले भने, ’किन तपाँईसँग संवाद गर्ने । जब तपाईं सुन्दै सुन्नुहुन्न भने संवाद कठिन हुन्छ ।

उनले एक भागको जनता आक्रोशित भएका बेला राष्ट्रिय एकता कठिन हुने बताए । यदि देशको एक भागको जनता आक्रोशित छ, उसले आफ्नो अधिकारको माग गरेको छ, त्यसलाई तपाईं सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस् ।

सरकारले ल्याएको नक्सा अनुसार निशान छाप बनाउने संविधान संशोधन विधेयकको पक्षमा उभिन कठिन हुने ठाकुरले बताए ।

’विवाद अरु ठाउँमा पनि छ । मात्रै त्यहाँ (कालपानी–लिम्पियाधुरा) मा छैन । त्यो कुराहरु पनि अब उठ्छ । सुगौली सन्धीमा धेरै कुरा आएको छैन’, ठाकुरले भने, ’त्यसै यहाँको शाशकहरुले पाएको छ । त्यो कुरा अब उठ्छ । त्यो पनि विवादको विषय बन्छ अब । छोड्दैनौँ हामी ।