काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले कम्युनिस्ट पार्टीहरूको उदय श्रमिककै बलमा आएको भए पनि नेतृत्व तहमा पुगेका नेताहरूले श्रम गर्न छोडेको टिप्पणी गरेका छन् । शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै महासचिव चन्दले नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोडेर नेताहरू चन्दाकै पछि दौडेको आरोप लगाएका हुन् ।
कम्युनिस्ट नेताहरूमा आफ्नो क्षमता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ छ । कम्युनिस्ट पार्टीलाई श्रमिकहरूको पार्टीमा बदल्नुपर्छ भनेर अभियान चलाएर आफू अघि बढेको चन्दले उल्लेख गरे ।
‘कम्युनिस्ट पार्टीलाई श्रमिकहरूको पार्टी बनाउनुपर्दछ । जसले जे जति योग्यता हासिल गरेको भए पनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ । श्रम नगर्ने हो भने त्यसले परनिर्भरता ल्याउँदो रैछ भन्ने अनुभूति भएको छ । विज्ञ भए पनि आफ्नो क्षेत्रमा गरे पनि सबैले श्रम गर्ने कुरा संगठनमा लागु गर्नुपर्दछ ।’
चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अलमलिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिरहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गरे ।