Breaking News

संखुवासभाको खाँदवारीमा पहिरोले तीन घर र एक गोठ बगायो

संखुवासभाको खाँदवारी नगरपालिका- ११ मा पहिरोले तीन घर र एक गोठ बगाएको छ।

बुधबार राति वर्षासँगै अरूण नदीको बहाव बढेर मावाखोलामा बढेपछि पहिरोले तीन घर र एक गोठ बगाएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार  घर बगाउँदा मणिप्रसाद राई घाइते भएका छन्।  उनको घुँडामा चोट लागेको छ।

उनको ढुंगा र माटोले बनेको जस्ताको छानो भएको एकतले घर पनि बगाएको थियो।

उनीसँगै सोही वडाका  रामप्रसाद राई, दिलबहादुर राईको घर पनि बगाएको छ भने रत्नबहादुर राईको गोठ बगाएको प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए।

‘पूर्व जानकारी भएकाले ठूलो मानवीय क्षति भएको छैन,’ उनले भने, ‘स्थानीयले खाद्यान्न र गाइवस्तु अन्य ठाउँमा सारिसकेका थिए।’

उनका अनुसार जोखिम क्षेत्रआसपासमा मानिसहरू बर्खा सुरू भएसँगै अन्य ठाउँमा गइसकेका हुन्छन्। त्यसैले भौतिक क्षतिमात्र भएको हो।

गएरातिको पानीले घरसँगै चन्दनपुरबाट चिचिला गाउँपालिका तर्फ जाने काठेपुल पनि बगाएको उनले बताए।

नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरू भएको हो। संखुवासभामा पछिल्लो चौबिस घन्टामा १६.४ मिलिमिटर वर्षाको मापन भएको छ।

गतवर्ष ताप्लेजुङ र संखुवासभामा बाढीले ठूलो क्षति गरेको थियो।