Breaking News

मन्त्री बन्न ६ पटक मात्र नभएर त्यस्तै ताल पर्यो भने २० पटक पनि मन्त्रि बन्ने सकिन्छ

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरूङ (दीपक मनाङे) ले कार्यभार सम्हालेका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार स्वतन्त्र सांसद मनाङे र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा मन्त्रीमा नियुक्त गरेका थिए।

उनीहरूले सोमबार नै शपथ लिएर कार्यभार सम्हालेका छन्।

कार्यभार सम्हाल्दै मन्त्री मनाङेले प्रदेश सभामा आफ्नो गतिविधि र भूमिकालाई लिएर गरिएका विभिन्न टिप्पणीप्रति लक्षित गर्दै जबाफसमेत दिएका थिए।

मनाङे जसको नेतृत्वमा सरकार बन्छ उतैतिर ढल्कने गरेका छन्। यसअघि उनी एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री नै थिए।

त्यो सरकार ढलेपछि नेपाली कांग्रेसका पाण्डे नेतृत्वको सरकारमा पनि मंगलबारदेखि उनी सहभागी छन्।

सोमबार मुख्यमन्त्री पाण्डेलाई स्वतन्त्र सांसद मनाङेले पनि विश्वास मत दिएका थिए। कांग्रेसका २७, राप्रपाका २, मनाङे र देवकोटासहित गरीी ३१ सांसदको समर्थनमा मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएका थिए।

विश्वास मत दिएका मनाङे र देवकोटालाई मुख्यमन्त्रीले मन्त्री बनाएका हुन्। राप्रपा भने तत्काल सरकारमा सहभागी नहुने भएको छ।

मन्त्री मनाङेले कार्यभार सम्हाल्दै यस्तै अवस्था रहने हो भने २० पटकसम्म पनि मन्त्री हुन सकिने बताए।

‘विश्वास मत माग्दै कांग्रेस सभापति (शेरबहादुर देउवा) ले सबैलाई पत्र पठाएको थियो, मलाई पनि पत्र आएको थियो,’ मनाङेले कार्यभार सम्हाल्दै पत्रकारहरूसँग भने, ‘मान्छेले ६ चोटि भन्छन्, यस्तै तालले गयो भने २० चोटि पनि मन्त्री खानुपर्ने हुन्छ, त्यो हाम्रो बाध्यता हो।’

आफूले आफ्नो ठाउँ (मनाङ) लाई हेरेर त्यहाँ विकास गर्नका लागि मन्त्री भएको दाबी पनि उनले गरेका थिए।

‘यदि मेरो जिल्ला राम्रो बनिसकेपछि मलाई यो मन्त्रालय पनि चाहिँदैन,’ मन्त्री मनाङेले भने, ‘यो मन्त्रालयमा मान्छेको अपेक्षा उच्च छ। बाटो सबै ढलान गर्न थाल्यो। कास्कीमा साइकलिङ र हाइकिङ गर्ने मेरो योजना थियो। तर जति वडामा गए नि! त्यहाँ आधा ढलान गरिसकेको छ, त्यहाँ अब बाटो बन्दैन पनि भनेको छु।’

मनाङे  २०७९ मा मनाङको प्रदेश सभा क्षेत्रबाट निर्वाचित भएका थिए।

मन्त्री राजिब गुरूङ (दीपक मनाङे)