संक्रमितलाई आइसोलेसनमा लिन खोज्दा रौतहटमा हवाई फायर

१६ जेठ, रौतहट । कोरोना संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा भएको तनावको भिडलाई नियन्त्रण लिने क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको बताइएको छ ।

प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । सो क्रममा प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १ दर्जन हवाई फायर गरेको थियो ।