Breaking News

उपत्यकाका घरधनीहरुको टाउको दुःखाई बन्दै गर्मी

झण्डै चार दशकअघि तराईमा मात्रै गर्मी हुन्थ्यो । त्यतिबेला काठमाडौं उपत्यकासहित पहाडी भूभागका धेरै जिल्लामा गर्मी हुदैंन्थ्यो । बाह्रै महिना जाडो हुन्थ्यो । केही दशकयता उपत्यकासहित विभिन्न जिल्लामा गर्मी हवात्तै बढेको छ । अहिले गर्मीका कारण उपत्यकामा बसिटिक्नु छैन । यहाँ बस्नेहरुलाई के गरौं र कसो गरौं भएको छ ।

गर्मीका कारण घरधनीहरु पनि हैरान भएका छन् । डेरामा बस्नेहरु पनि उकुसमुकुस भएको बताउँछन् । कोही त गर्मीले गर्दा गाउँ नै फर्किन समेत थालेका छन् । एकातिर गर्मी छ, अर्कातिर नुहाउन धारामा पानी छैन । त्यसैले, अहिले उपत्यकाबासीको टाउको दुःखाई बनेको छ, गर्मी । अहिले उपत्यकामा घरजग्गा भएकाहरु बेच्न खोजिरहेका छन् ।
यहाँ बेचेर बाहिरी जिल्लामा जाने अधिंकाशको सोच छ । तर, घरजग्गा किन्ने कोही नहुँदा पनि समस्या आयो नि त । उपत्यकामा गर्मी बढ्नुको कारण दुई वटा रहेको बताइन्छ । एउटा बाटोसँगै घरभित्र समेत पिच गरियो । अर्को जताततै घर बनाइयो । यता, २० वर्ष पुराना सवारीसाधन पनि यही चलाइएको छ । इट्टा भट्टादेखि कलकारखाना, उद्योग, सबै यहीँ छन् ।

यसले वायु प्रदूषण र गर्मी बढेको बताइन्छ । उपत्यकामा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, बत्तीलगायत विभिन्न सेवासुविधा रहेको हुँदा मुलुकभरका जनता यहाँ बसे । यहाँको हावापानी पनि राम्रो मानेर अधिंकाशले जग्गा किनेर घर बनाए । त्यस्तै, अधिंकाश बाहिरी जिल्लाका मानिस यहाँ डेरामा बस्दै आएका छन् । उपत्यकामा यहाँका स्थानीयबासीभन्दा बाहिरी जिल्लाका मानिस धेरै भेटिन्छन् ।

अहिले सुनिन्छ कि उपत्यकामा बैंक तथा वित्तिय संस्थाले लिलाम गरेको हजारौं घरजग्गा छ । तर, त्यो बिक्री भएको छैन । किनकि कोही पनि उपत्यकाभित्र घरजग्गा किन्न चाहँदैन । हिजो खेतीयोग्य जमिन समेत सबै प्लाटिङ गरेर घर बनाइयो । वनजंगल समेत फडाँनी घर बनाइयो । बाटो निर्माण गरियो । बाटो समेत पिच गरियो । घर आलिशान देखाउन कतिपयले घरभित्रै पिच हाने ।

यति मात्र होइन, घरमा अनेकथरी सामग्रीहरु जोडे । उपत्यकामा हरेक सेवासुविधा सहजै पाइन्छ भनेर हिजो विदेश गएकादेखि जागिर खाएकासम्मै यहीँ घरजग्गा किने । पैसा हुने जोकोहीले यहीँ घरजग्गामा लगानी गरे । तर, अहिले यहाँ गर्मी हवात्तै बढेपछि उनीहरुलाई त्यो घरजग्गा टोक्नु कि ओकाल्नु भएको छ । काठमाडौंलाई देशको राजधानी भनिन्छ ।
राजधानी त हरियाली, व्यवस्थित र सफा, सुन्दर हुनुपर्दछ । यद्यपि, यहाँ त घरबाहेक केही देखिँदैन । दुई आना जग्गा किनेर पाँच तले घर बनाइएको छ । भाडामा लगाइएको छ । न खुल्ला ठाउँ छोडिएको छ न त रुख नै रोपिएको छ । घरका कारण राजधानी अस्तव्यस्त बनेको छ । यहाँ सास फेर्न समेत गाह्रो बन्दै गएको छ ।

दुई वर्षअघि उपत्यकाको कुनै ठाउँमा तीन करोडमा किनेको घरजग्गा अहिले त्यसको आधा मूल्यमा बिक्री हुँदैन । घरजग्गामा लगानी गर्दा व्यक्तिदेखि बैंक तथा वित्तिय संस्था समेत डुबेका छन् । उपत्यका अव्यवस्थित छ । दिनहुँ लाखौं स्वदेशी तथा विदेशी नागरिक हिँड्ने बाटोमा फुटपाथ बनाउन दिइदैँन । बाटो काट्न न जेब्रा क्रस छ न त आकाशे पुल ।
भएका आकाशे पुल पनि जीर्ण अवस्थामा पुगेका छन् । यता, सवारीसाधन जथाभावी पार्किङ गरेर राखिएको हुन्छ । मान्छे हिँड्ने बाटोमा गाडी पार्किङ गर्दा सर्वसाधारणले सास्ती मात्रै होइन, अकालै ज्यान पनि गुमाउनु परिरहेको छ । उपत्यकामा गर्मीसँगै बेरोजगारी बढेको छ । बेरोजगारी अनि महँगीका कारण मानिसहरु यहाँ बस्न नसकेर आफ्नै जन्मथलो फर्किएका छन् ।

हिजो दलालीहरुले आफ्नो फाइदाका निम्ति सर्वसाधारणलाई फसाए । रातारात जग्गा प्लाटिङ गरेर बेचबिखन गरे । मानिसहरुले लहैलहैमा लागेर जग्गा किनेर घर बनाए । अहिले यहाँ घर बनाएकाहरु तनावमा छन् । गर्मीका कारण यहाँ बस्न नसकेपछि घरजग्गा बेचेर अर्को जिल्ला जान खोज्दा समेत उनीहरुले पाएका छैनन् । किनकि घरजग्गा किन्ने नै कोही छैन ।

मानिसहरुले एक आनादेखि चार आना जग्गामा घर बनाए । कतिपयले घरमा मार्बल हाले त कतिपयले महगो इट्टा, ढुंगा वा सिसा टाँसे । यद्यपि, अहिले त्यो घर किन्ने कोही छैन । तीन वर्षअघि उपत्यकामा ठाउँअनुसार एउटै कोठाको पाँच हजारदेखि २० हजार लिइन्थ्यो । एक फ्ल्याटको ३० हजारदेखि दुई लाख त एउटा सटरको ५० हजारदेखि १८ लाखसम्म पथ्यो ।

अहिले यहाँका सटरहरु धमाधम खाली भएका छन् । कोठा र फ्ल्याट पनि खाली हुने क्रममै छ । अधिंकाशले उपत्यका छोडिसकेका छन् । कोही विदेश गएका छन् त कोही गाउँ फर्किएका छन् । सरकार कसरी गर्मी र प्रदूषण कम गर्ने भनेर कुनै रणनीति बनाउँदैन । अहिले उपत्यका बस्ने लायक नै छैन । यहाँ मानिसहरु बाध्यताका कारण मात्र बसेका छन् ।
सरकारले पहिल्यै उपत्यकामा जथाभावी घर बनाउन दिनु हुदैंन्थ्यो । ताल, पोखरी, वन, जंगल फडाँनी गर्न दिनु हुदैंन्थ्यो । सरकारले बेलैमा यसबारे ध्यान दिएन । जग्गा दलालीहरुले जग्गा खण्डीकरण गरेर महंगोमा बेचे । अनि सर्वसाधारणले सेवासुविधा पाइन्छ भनेर किनेर घर बनाए । पहिला पहिला माटोको घर हुन्थ्यो ।

बीचमा प्वाल राखिएको हुन्थ्यो । यसले गर्मी धेरै हुदैंन्थ्यो । अहिले सबै सिमेन्टको प्रयोग गरेर घर बनाइएको छ । फेरि सिमेन्ट छिट्टै तात्छ । र, गर्मी हुन्छ । अर्कोतर्फ बाटो पनि पिच गरिएको छ । यसले घरदेखि बाटोसम्म तातो छ । उपत्यकामा राजनीतिक दलका नेतादेखि प्रधानमन्त्री, मन्त्री, सांसद, उच्च पदस्थका व्यक्तिहरु समेत बसोबास गर्छन् ।
तर, अहिले पनि कसैले पनि यहाँ गर्मी कसरी कम गर्न सकिन्छ भनेर सोचेका छैनन् । गर्मी कम गर्न खुल्ला ठाउँ बनाउनुपर्ने हो कि अरु नै केही गर्नुपर्ने हो यसबारे कोही सोच्दैन । उपत्यकामा यहीँ क्रममा गर्मी बढिरहँदा यहाँ बस्दै आएका सबै आफ्नै गाउँघर फर्किने छन् । गर्मीले घरभित्रै बसिटिक्नु छैन, बाटोमा पनि गर्मी र धुँवाधुलो उस्तै छ ।

केही कामका लागि हिँड्दा गर्मीका कारण बाटोमै बेहोस भई ज्यान गुमाउनुपर्ने अवस्था छ । किनकि सार्वजनिक स्थलमा खानेपानीको समेत निःशुल्क व्यवस्था गरिएको छैन । चिकित्सक भन्छन्, गर्मीमा धेरै पानी पिउनु । तर, पैसा नभएकाहरुले कसरी पिउनु ? उपत्यकामा खानेपानीको समस्या जटिल छ । एक बोतल पानीको समेत झण्डै ५० रपैयाँ तिर्नुपर्छ ।
अनि पैसा हुने त यति तिरेर पानी पिउलान् । अनि पैसा नभएकाहरु त गर्मीमा पानी नपाएरै त मर्ने हो नि । हरियो वन, नेपालको धन भनिन्छ । तर, उपत्यकामा हरियाली नै कत्तै देखिदैंन । सबै वनजंगल फडाँनी गरियो । र, घर बनाइयो ।

हरियाली हुँदा गर्मी भएपनि सितल हुन्छ । सास फेर्न गाह्रो हुन्न । यद्यपि, हरियालीको नाममा घाँस पनि देखिन मुस्किल छ ।
सबै रुख काटेर र वनजंगल फडाँनी गरेर घर बनाइएको छ । अनि बोटबिरुवा नै नभएपनि मानिसले कसरी अक्सिजन पाउँछ । यहाँ निस्सासिएर ज्यान गुमाउनुपर्ने अवस्था छ । त्यसैले, अहिले उपत्यकामा कोही बस्न चाहदैंन । सबै यहाँ भएको घरजग्गा बेचेर बाहिरिन खोजिरहेका छन् । सरकारले अझै पनि गर्मी कसरी कम गर्ने भनेर नसोचे उपत्यका रितिने छ ।