Breaking News

एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा

२६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन् । अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा तामाङ सह–संयोजक रहेको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

संघका संयोजक कृष्णकुमार विश्वकर्माले महाधिवेशन गर्न नचाहेकाले अर्को महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुपरेको तामाङले बताए । उनका अनुसार, शनिबार घोषणा गरिएको कमिटीले आगामी ३–५ असोजसम्म महाधिवेशन गर्नेछ ।

तर पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनाल पक्षधर नेताहरुले भने शनिबार गुट भेला गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । खनाल निकट रहेका संयोजक विश्वकर्माले शुक्रबार नै विज्ञप्ति जारी गरेर समानान्तर भेला नगर्न चेतावनी दिएका थिए ।

तर भेलाले समानान्तर नेतृत्व नै घोषणा गरेपछि संघभित्रको विवाद सतहमा आएको छ ।

एकीकृत समाजवादीमा युवा संघको विवाद नौलो भने होइन । गत वर्ष भदौमै समानान्तर नेतृत्व घोषणाको तयारी भएको थियो ।

वरिष्ठ नेता खनाल निकट नेताहरुले कृष्ण विश्वकर्मालाई संयोजक बनाउने तयारी गरेपछि अध्यक्ष नेपाल तर्फका नेताहरुले नितेश पौडेललाई संयोजक बनाउन छुट्टै भेला गरेका थिए ।

तर माधव नेपालका भाञ्जा रहेका पौडेललाई रोकेर कृष्ण विश्वकर्मालाई संयोजक घोषणा गरिएको थियो ।