चौरजहारी घटनामा संलग्न १८ जना पक्राउ घटनाका बारेमा अनुसन्धान हुँदै

१५ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा हालै भएको घटनामा संलग्न रहेको आशंकामा १८ जना पक्राउ परेका छन् ।

त्यहाँका वडाध्यक्षसहित २० जना विरुद्ध किटानी जाहेरी परेको छ ।

वडाध्यक्षसहित १२ जना सोमबार पक्राउ परेका थिए भने थप ६ जनालाई बुधबार पक्राउ गरिएको हो ।

फरार दुई जनाको खोजी जारी रहेको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले बताएका छन् ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकाका–४ का २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन भनी त्यहाँ गएको समयमा शनिबार बेलुका सोतीका स्थानीयले लखेट्दै कुटपिट गरेर हत्या गरेको अभियोग लागेको छ ।

शनिबार सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये ४ जनाको शव फेला परिसकेको छ ।

अझैं दुई जना वेपत्ता छन् ।

जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो ।

शनिबार राति भेरी नगरपालिका–४ का नवराज विक, रुकुम पश्चिमका चौरजहारी नगरपालिका–१ टीकाराम नेपालीको आइतवार विहान र भेरी ४ का गणेश बुढामगरको सोमवार शव फेला परेको थियो ।

वेपत्ता रहेका भेरी नगरपालिकाका वडा नं. ४ का १७ बर्षीय गोविन्द शाही र ४ वडा नम्वर कै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ ।