आज मातातिर्थ औशी ( अर्थात् आमाको मुख हेर्ने दिन) को रुपमा लिने गरिन्छ । आफ्नी जन्मदिने ममतामयी आमाको दिर्घायू तथा खुशी जिवनको लागि छोराछोरीले आज आफ्नी आमालाई खुशी बनाउँदै राम्रो (मिठो) खानेकुरा खुवाएर र सफा र नयाँ लुगा लगाई दिएर रमाईलोका साथै खुशी साटासाट गर्ने गरिन्छ । आजको दिनमा आमासँग भएका छोराछोरीले सँगै बसेर आमाको दिर्घायुका कामना सहित मिठो खाना र नयाँ लुगा किनिदिएर आमाको दिर्घायुको कामना गर्दछन् भने, टाढाटाढा भएका छोराछोरीले सामाजिक संञ्जाल (फोन, फेसबुक म्यासेन्जर, टिकटक, स्ट्राग्राम र अन्य उपलब्ध उपकरणबाट भएर पनि आफ्नी आमाको मुख हेरेर माया साटासाट र दिर्घायुको कामना गर्दछन् ।
जन्मदिने आमाले नौ महिना कोषमा राखी जन्मदिएर ५/६ वर्षसम्म नौधारा दुध चुसाएर घुर्काउदै १५ वर्षसम्म के खान्छ, के लगाउँछ कता केही बिर्गाछ की, चोटपटक लागउँछकी, कतै दुःख पाउँछकी जस्ता अनेकौ प्रकारका कष्ट र दुख्ख सहेर ठूलो मानव बनाएकी बनाएर बुढेसकालसम्म पनि आफ्ना छोराछोरीको दिर्घायु र सफल जिवनको कामनाका लागि हरपल खटिरहेकी आमालाई आजकोे दिनमा सबै छोराछोरीले आफ्नी जन्मदिने आमालाई सम्झनुका साथै खुशी र दिर्घायुको कामना गरिन्छ ।
आजको दिनमा काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका ८/६ मा अवस्थित मातातिर्थ कुण्डमा ठूलो मात्रामा मेला लाग्नीरहेकोे छ । विश्वकै एक मात्र औलोगिक तिर्थस्थलको रुपमा रहेको धार्मिक तिर्थ स्थल मातातिर्थ औशीको अघिल्लो दिन बैशाख २५ गतेदेखि नै भक्तजनहरुको भिड लागिरहेको छ । हिजो मंगलबार राती आफ्नी स्वर्गबास भएकी आमाको चिरशान्ति र मृत आत्माको कामनाको लागि रातभर मातातिर्थ कुण्डस्थलमा आमाको नाममा दिप ( बत्ति) बालेर जागाराम बसी कामना गरिन्छ । आज दिनभर मृतक आमाको नाममा श्राद्धगर्नुका साथै कुण्डमा सहयोग (दान) समेत गरिन्छ ।
आज देशभरीका साथै भारत र अन्य देशका भक्तजनहरुको ठूलो मात्रामा भिड लागिरहेको छ । हिजैबाट यसस्थलमा मेला सुरु भएको छ । मेलामा विभिन्न प्रकारका सरसामान किनमेलका साथै विभिन्न खानेकुराका परिकार खान पाउनुका साथै मनोरञ्जनमा समेत भरपूर्ण आनन्द लिन सकिने छ । यस मातातिर्थ स्थल कुण्डमा आज ठूलो मात्रामा देशभरीका भक्तजनहरुको भिड लागी रहेको छ । मातातिर्थ कुण्डदेखि डेढ किलोमिटर तल पृथ्वीराजमार्ग गुज्रुधारासम्म नै व्यापारीका साथै भक्तजनहरुको भिड लागिरहेको छ । आजकोे दिन यस क्षेत्रमा यातायात साधनमा रोक लगाइएको छ । मान्छेहरुको भिडले खुट्टा टेक्न समेत ठाउँ नभएकाले भक्तजनहरुलाई आवतजावत र मन्दीर दर्शन गर्न ज्यादै कठिन भएको देखिन्छ ।
मातातिर्थ संरक्षण विकास कोषको आयोजनामा मेला व्यवस्थापन र भक्तजनहरुलाई दर्शन र आवतजावतको व्यवस्था गरिरहेको छ ।
मन्दीर प्रवेश र भक्तजनहरुलाई दर्शनका साथै आवजतजावतमा कठिनाई नहोस भनेर नेपाल प्रहरीका साथै मातातिर्थ संरक्षण कोषले खटाएका स्वयमसेवकले सहजीकरण गरिरहेका छन् । भक्तजनहरुलाई सूचना प्रभाव र अन्य जानकारीका लागि कोषले माइक मार्फत् विभिन्न जानकारी दिनुका साथै सहयोग उपलब्ध गराउने महानुभावहरुको सहयोग राशी र नाम बाचन समेत गरिएको छ ।
हिजोदेखि लागि रहेको मातातिर्थ मेला आजदिनभर राती अबेरसम्म लागेर भोलिसम्म सम्पन्न हुनेछ ।