२१ वैशाख, काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे ।
इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी निशान थापा कमान्डको टोली घटनास्थल पुगेर छात्राको ‘रेस्क्यु’ गर्यो । प्रहरीले सोधपुछ गर्ने क्रममा किशोरी कक्षा १२ को परीक्षा दिएर फर्किएको खुल्यो । उदयपुर घर भएकी उनी दमकमा बसेर अध्ययन गर्दै थिइन् । परीक्षा दिएर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको खुल्यो ।
गोली हान्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । भारतीय सीमा नाकाहरूमा विशेष निगरानी बढाएको कोशी प्रदेशका प्रमुख तथा डीआईजी चन्द्रकुवेश खापुङले जानकारी दिए ।
घाइते किशोरीले आफूमाथि गोली प्रहार गर्ने व्यक्ति सिरहाका अमितकुमार यादव भएको बताएकी छन् ।
उनी घाइते किशोरीका शिक्षकसमेत हुन् । प्रहरी स्रोतका अनुसार उनी उदयपुरमा कार्यरत रहेको बेला दुव्यर्वहार गरेपछि किशोरीले साउन २०७९ प्रहरीमा जाहेरी दिएकी थिइन् ।
यादवले मुद्दा फिर्ता लिन प्रलोभन देखाए, दबाब दिए । तर किशोरीले मुद्दा फिर्ता नलिएपछि उनी फरार भए । शुक्रबार परीक्षा दिएर फर्किएकी किशोरी अगाडि गएर मोटरसाइकल रोक्दै यादवले मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।
तर कुनै जवाफ नदिएपछि तँ, तेरो दिदी र …(जाहेरी हाल्न सघाउने व्यक्ति) लाई नमारी म जेल जान्नँ’ भन्दै किशोरीमाथि गोली हानेको एक अनुसन्धान अधिकारीले जानकारी दिए । घटनाबारे विस्तृत रूपमा अनुसन्धान हुन भने बाँकी छ ।