Breaking News

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

बिहीबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्‌को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी अधिवेशन आह्वान गरेका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

सोही व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २ गते आइतबार राति १२ बजेदेखि लागु हुनेगरी संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेका थिए।

त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकाले संसदीय छानबिन समितिको माग गर्दै आएको थियो।

कांग्रेसले पर्याप्त समय हुँदाहुँदै सरकारले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेकोमा विरोध गरेको थियो।