Breaking News

इलाम–२ को मतगणना केही बेरअघिबाट सुरू

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन इलाम–२ को मतगणना केही बेरअघि ७ बजेबाट सुरू भएको छ । हिजो शनिबार भएको मतदानमा मतमेटिका ल्याउन ढिलाइ भएका कारण आज बिहानबाट मतगणना हुन लागेको हो ।

अहिले बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको हो । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । हिजो भएको मतदानमा ५८ प्रतिशत मत खसेको थियो।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन् । तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपु¥याइसकिएको छ ।

चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिकाका सबै वडा, इलाम नगरपालिकाका–१० नम्बर बाहेकका सबै (११ वटै) र माई नगरपालिकाका ६, ७ र ८ गरी कुल ४२ वडा इलाम–२ मा पर्छन् ।

मतगणनाका लागि सदरमुकामस्थित सिटी हलमा व्यवस्था गरिएको छ । सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको छ ।  मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएका छन् ।