Breaking News

इलाम–२ प्रतिनिधिसभामा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान

१५ वैशाख, काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन आज सम्पन्न भएको छ ।

दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ ।

आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ ।

उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११:०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ । तर बझाङमा भने हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानइ भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिएका छन् ।